१० खेलाडीमा सीमित स्पेनको सानदार जित, पोर्चुगल र क्रोएसिया पनि विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ । आइतबार राति भएको खेलमा स्पेनले स्विट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा फावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक एक गोल थपेका थिए । स्विट्जरल्याण्डका लागि मोहमद जेकी अमदौनीले एक गोल फर्काए । २०औं मिनेटमा नोर्मान्डले रातो कार्डको सामना गरेपछि स्पेन १० खेलाडीमा सिमित बनेको थियो ।

जितसँगै समूह डी मा रहेको स्पेनले दुई खेलबाट चार अंक जोडेको छ । स्विट्जरल्यान्डको भने यो लगातार दोस्रो पराजय हो । स्पेन यसअघि सर्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो भने स्विट्जरल्यान्ड डेनमार्कसँग पराजित भएको थियो ।

यही समूहमा रहेको डेनमार्कले भने लगातार दोस्रो जित निकालेको छ । आइतबार राति नै भएको खेलमा डेनमार्कले सर्वियालाई २-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै डेनमार्कले २ खेलबाट ६ अंक बनाएर आफूलाई शीर्ष स्थानमा राखेको छ ।

अर्को खलेमा लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको छ । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे ।

निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा रोनाल्डोले गरेको गोलले पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भयो । ग्रुप एमा रहेको पोर्चुगल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै मोड्रिचले गरेको निर्णायक गोलमा क्रोएसियाको १-० को जित हात पारेको छ । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डरले बक्सको किनाराबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकले सीधै जाली चुमेको थियो । मोड्रिचले आफ्नो देशका लागि १८० खेलमा २७औं गोल पुर्‍याएका छन् ।

बिहीबार नेसन्स लिगको पहिलो खेलमा पोर्चुगलसँग २-१ गोलअन्तरले पराजित भएको क्रोएसियाले सुरुआतदेखि नै दबाब सिर्जना गरेको थियो । तर, डुजे कालेटा-कार र मोड्रिचले मौका पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ खेल गोलरहित बराबरीमा टुंगिएयो । दोस्रो स्थानमा रहेको क्रोएसिया र पोल्यान्डको समान ३ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *