नेकपा एसमा भाँडभैलो

ओलीको ‘ग्रिन सिग्नल’ले नेकपा एस विभाजन नजिक

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा यति बेला चर्को विवाद छ । पहिलो महाधिवेशनपछि नेकपा एसका नेताहरू एकजुट छैनन् । पार्टीको पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन भएपछि नेकपा एसमा असन्तुष्टि बढेको थियो । निर्वाचनमा पार्टीका प्रभावशाली नेताहरू पराजित भएपछि असन्तुष्टि झनै बढ्यो ।

पार्टी नेतृत्वसँग नेकपा एसको एक समूह नै असन्तुष्ट छ । रामकुमारी झाँक्रीसहितका नेताहरूलाई नियोजित रूपमा हराइएको दाबी गरिरहेको सो समूहले पार्टी नै विभाजन गर्न सक्ने आँकलन गरिएको छ ।

चर्को असन्तुष्टि सम्बोधन हुने छाँटकाँट नदेखिएपछि नेकपा एस विभाजनको संघारमा पुगेको हो । पार्टीका बहुसङ्ख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गर्ने तयारीमा रहेको राजनीतिबृत्तमा चर्चा छ । अध्यक्ष माधव नेपालले पदाधिकारीमा पराजित गराइएका नेताहरू एमालेमा फर्कन प्रयासरत रहेका छन् ।

रामकुमारी झाँक्री उपाध्यक्षमा जयन्ती राईसँग पराजित भएपछि नेकपा एसमा असन्तुष्टिको आगो नै बलेको छ । कतिपय नेताहरु जिल्ला कमिटी नै भङ्ग गरेर एमालेमा समाहित भइसकेका छन् भने केही नेताहरू अन्य पार्टीमा जानका लागि परामर्शमै छन् ।

निर्वाचनमा अध्यक्ष नेपालको निर्देशनमै रामकुमारी लगायतलाई पराजित गरिएको भन्दै असन्तुष्ट पक्ष पार्टी विभाजनको तहसम्म पुगेको हो । उसो त, झाँक्री आफैले पनि केही सञ्चार माध्यममा दिएको अन्तर्वार्तामै अब आफूहरूले बाटो बदल्नुपर्ने अवस्था आएको बताएकी छन् ।

नेकपा एसको असन्तुष्ट पक्ष नेकपा एमालेमै फर्किने तयारीमा छ । यद्यपि यसबारे कुनै ठोस निर्णय भने भइसकेको छैन । झाँक्रीसहित किसान श्रेष्ठ, प्रेम आलेलगायत नेताहरू एमालेमा फर्किनका लागि आन्तरिक छलफलमा रहेको स्रोतले जनायो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमालेमा फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताएपछि असन्तष्टपक्ष थप हौसिएको हो ।

रामकुमारी झाँक्रीसहितका नेताहरू ओलीको ‘ग्रिन सिग्नल’माग्न बालुवाटार नै पुगेका थिए । ओलीले पनि सकारात्मक जवाफ दिएपछि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

विभिन्न परिस्थितिमा एमाले छाडेकाहरूमध्ये केही पहिल्यै एमालेमा फर्किसकेका छन् भने अरू केही नेताहरू एमालेमा आउनका लागि छलफल र एमालेका नेताहरूसंग भेटघाटमा व्यस्त छन् ।

समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले पार्टीको निर्वाचन नै खारेज गर्नुपर्ने बताए । उनले मतदान प्रक्रियाबाट भएको पदाधिकारीको निर्वाचन खारेज गरेर सबैलाई चित्तबुझ्दो जिम्मेवारी दिनुपर्ने बताए ।

उनले आफ्नो माग पुरा नभएमा आफू पार्टीमा सक्रिय नहुने बताए । उनले नयाँ मापदण्डअनुसार फेरि पदाधिकारीको चयन गर्नुपर्ने बताए ।

‘नयाँ मापदण्डअनुसार फेरि पदाधिकारीको चयन भयो भने म पार्टीमा सक्रिय रहन्छु अन्यथा पार्टीमा सक्रिय रहन सक्दिनँ,’ उनले भने ।

यता,संस्थापन पक्ष भने पार्टीमा कुनै खालको विवाद नरहेको बताउँछ । निर्वाचनमा पराजित भएपछि नेताहरूले आफ्नो धारणा व्यक्त गर्नु सामान्य रहेको संस्थापन पक्षको भनाई छ ।

नेकपा समाजवादीका नवनिर्वाचित सचिव तथा सांसद शेरबहादुर कुँवरले पार्टीमा कुनै खालको विवाद नरहेको बताए । उनले पार्टी विभाजनको हल्ला मात्रै चलेको बताउँदै उनले असन्तुष्ट नेताहरूले पार्टी विभाजन नगर्ने बताए ।

‘पार्टीमा फरक मत सबैको हुन्छ । पराजित भएपछि केही नेताहरूले आफ्नो धारणा दिनु स्वाभाविक नै हो,’उनले भने,‘हाम्रो पार्टी एकजुट छ, विभाजन हुने कुनै सम्भावना नै छैन । पार्टीमा विवाद नै छैन, केही नेताहरूको असन्तुष्टलाई ठुलो विषय बनाइराख्नु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *