मुकुल ढकालले दिएको पुनरावेदन होला त स्वीकृत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले यही भदौ १६ गते पार्टीमा पुनरावेदन दिए । उनले रास्वपामा साबिककै हैसियतमा रही काम गर्न पाउनुपर्ने माग सहित पार्टीमा पुनरावेदन दिएका हुन् ।

रास्वपाको महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय विरुद्ध ढकालले पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका हुन् । रास्वपाले ढकाललाई दुई पटक स्पष्टीकरण सोधेको थियो । रास्वपाले ढकाललाई असार १२ मा सामान्य स्पष्टीकरण सोधेको थियो । जवाफ दिन असार २१ सम्मको समयसीमा दिइएकामा असार १९ मै ढकाललाई पदबाट निलम्बन गरिएको थियो भने असार २५ मा पदबाट बर्खास्त गरिएको थियो ।

आन्तरिक दस्ताबेज मिडियामा लगेर सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले ढकाललाई स्पष्टीकरण सोधेको हो । इलाममा गत वैशाखमा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सभापति रवि लामिछानेको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि आलोचना गरिएको थियो । ढकालले तयार पारेको उक्त प्रतिवेदनको रास्वपाले स्वामित्व समेत लिएन । स्पष्टीकरणमा उनले उल्टै सभापति लामिछानेमाथि प्रश्न गरेपछि उनलाई पार्टीले केन्द्रीय सदस्यबाटै बर्खास्त गरेको हो ।

मुकुल ढकालले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने पार्टीको निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानूनविपरित भएको दाबी गर्दै त्यसलाई कार्यान्वयन नगर्न भन्दै निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । यस बारेमा आयोगले अध्ययन गरिरहेको छ । रास्वपाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।

मुकुल ढकाल पार्टीमा फर्कने सम्भावना छैन : मनिष झा
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले डा. मुकुल ढकाल पार्टीमा फर्कने सम्भावना नरहेको बताएका छन् । ‘पार्टीका व्यक्ति छानीछानी उहाँले अभियोगहरू लगाउनुभयो,’ मकालुखबरसँग कुरा गर्दै सांसद समेत रहेका झाले भने, ‘जुनजुन व्यक्तिलाई अभियोग लगाउनुभएको छ, कि त उहाँहरुले पार्टी छोड्नुपर्‍यो होइन भने उहाँ (मुकुल ढकाल) पार्टीमा फर्कने सम्भावना छैन ।’

पार्टीलाई क्षति पुग्नेगरी सार्वजनिक रूपमै गलत कुराहरू बोलिरहेकाले ढकाललाई पार्टीमा भित्र्याउन नसकिने उनको भनाई छ । पुनरावेदनका लागि ३५ दिने समय दिइएपनि ढकालले समय कटाएर पुनरावेदन दिएकाले स्वीकृत नहुने बताए । ‘पार्टीले पुनरावेदनका लागि ३५ दिनको समय दिएको थियो । उहाँले समय गइसकेपछि पुनरावेदन दिनुभयो । ढकाल आफैले बनाएको विधानको आफैले पालना गर्नुभएन, त्यसकारण उहाँको निवेदन स्वीकृत हुँदैन,’ कार्यवाहक प्रवक्ता झाले भने ।

ढकालले सुरुवाती चरणदेखि नै पार्टीलाई राम्रो योगदान गरेको भएपनि कार्यशैली राम्रो नभएको कार्यवाहक प्रवक्ता झाले बताए । पार्टी विरोधी गतिविधिहरू गरेकै कारण ढकाललाई पार्टीले बर्खास्त गर्नुपरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *