प्रेस विज्ञप्ति

ग्राहकहरूलाई एनआईसी बैंकको अनुरोध– ‘खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्नू’

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई  E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण (E-TDS) मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले जानकारी गराएको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *