प्लास्टिकले बजार पाउँदा संकटमा ‘पोटरी’ पेसा (तस्बिरहरू)
काठमाडौँ । भक्तपुर निकोसेरा निवासी दयालक्ष्मी अवाल ५० वर्षकी भइन् । उनी बिहान ५ बजे उठ्छिन् । घर बढार्छिन् । पूजा गर्छिन्, उनले चिया खाँदासम्म लगभग ८ बजिसक्छ । त्यसपछि उनी बिस्तारै माटोको भाँडा बनाउन सुरु गर्छिन् । यो उनको दैनिकी नै हो ।
उनी दिउँसो पनि माटोको भाडा बनाउँछिन् । बेलुकी करिब साढे ५ वा ६ बजेसम्म उनको यो क्रम निरन्तर चली नै रहन्छ ।
उनको एक छोरा र छोरी पनि छन् । उनीहरू दुवै ठूला भइसके । उनीहरू आ–आफ्नै पेसामा लागेका छन् । तर ५० वर्षीय दयालक्ष्मी अवाल भने आफ्नो घर धन्दा सकेर पनि माटोका भाँडा बनाउने गर्छिन् ।
उनका अनुसार उनी अवाल परिवारमा जन्मिएकी हुन् । अर्थात् घर बनाउने पेसा भएको परिवारमा । तर उनको श्रीमान् प्रजापति हुन् । त्यसैले उनले श्रीमानको घरमा आएपछि नै माटाको भाँडा बनाउन सिकिन् ।
उनले भनिन् ‘म आफैले सिके । पहिले देखि बाजे, ससुराले बनाउनुहुन्थ्यो । माइत त अवाल हो । यहाँ चैँ प्रजापति ।’
उनले आफैँले माटाको भाँडा बनाउन सिकेको सुनाइन् । उनले आफूलाई धेरै थरी भाँडाहरू बनाउन नआए पनि दियो, घेडुवा (घिउ हालेर बत्ती बाल्ने भाँडा), र ठुलठुला पाला बनाउन जानेको बताइन् ।
‘छोराले पनि भ्याएको बेलामा बनाउँछ । म घरमा बस्छु त्यसैले दिनभर बनाउँछु ।’ उनले भनिन् ।
उनले माटाको भाँडा बनाउने काम फुर्सदको बेलामा मात्र गर्ने गरेको बताइन् ।
भनिन् ‘जतिबेला फुर्सद हुन्छ, त्यति बेलादेखि गर्छु । यतीउति भन्ने छैन । धेरै काम गर्न पनि सक्दिन । अरुले त बिहान उठ्दै खेरि बेलुका ९/१० बजेसम्म काम गर्छन् नि ।’
उनले शारीरिक अशक्तताका कारण पनि धेरै काम गर्न नसकेको बताइन् ।
उनका अनुसार उनले दिनमा करिब ५०० ओटा दियोहरू बनाइ सिद्ध्याउँछिन् । घाम लागेको दिनमा उक्त दियोहरू केही समयावधिमा नै सुक्न थाल्छन् । तर पानी पर्दा भने सुक्न पाउँदैनन् । त्यसदिन भने उनले ‘बिदा’ पाउँछिन् ।
उनले गुनासो पोख्दै भनिन् ‘पानी पर्दा सुकाउनै पाउँदैन । बनाएर मात्र के गर्नु राख्ने ठाउँ हुँदैन ।’
उनले त्यहाँ दियो किन्न मानिसहरू आफै आइपुग्ने बताइन् । सधैँ दियो किन्न आउनेहरूलाई उनले ३५ रुपैयाँमा र कहिलेकाहीँ मात्र आउनेहरूलाई ४० रुपैयाँमा बेच्ने गरेको उनले जानकारी दिइन् ।
त्यसैगरि काँचो दियो अर्डर गर्नेहरूलाई भने उनले २ रुपैयाँको दरले बेच्ने गरेकी छन् ।
उनले चाडपर्व नजिकिए सँगै माटोका भाँडाको बिक्री वितरण बढे पनि अन्य बेलामा बिक्री नहुने गुनासो गरिन् । उनले अहिले प्लास्टिक, सिमेन्ट र फाइबरको भाँडाले गर्दा माटाका भाँडाको बिक्री नभएको बताइन् ।
भनिन् ‘अहिले बजार छैन, माटोको पनि अभाव छ ।’
उनले भाडा बनाउनका लागि माटो अडर गर्नुपर्ने बताइन् । उनका अनुसार १ गाडी माटोको मूल्य ५ हजार देखि ६/७ हजार सम्म पर्छ । उनले माटाको निश्चित मूल्य नरहेको बताइन् । उनले माटो कहिले राम्रो त कहिले नराम्रो पर्ने बताइन् ।
उनले आफू नजिकै रहेको एउटा बिग्रिएको काँचो ‘दियो’ देखाउँदै भनिन् ‘नराम्रो, बालुवा मिसिएको माटो पर्याे भने उ यसरी बिग्रन्छ । कति गाह्रो छ ।’
उनले माटोको भाँडा बनाउँदा आइपर्ने साह्रो–गाह्रोको बारेमा त खुलेरै बताइन् । अन्त्यमा मैले उनलाई ‘यस पेसामा नाफा, नोक्सान के छ ?’ भनेर सोधे । यस जवाफमा उनले काम गर्न सक्नेलाई घाटा नभएको बताइन् ।
उनले भनिन् ‘के घाटा, के फाइदा भन्नु खै, काम गर्न सक्ने लाई घाटा छैन । फाइदा भनूँ भने फाइदा धेरै छैन । गरि खान चैँ पुगिरहेको छ ।’
उनले दसैँ तिहारमा यस पेसा प्रति चासो देखाउने धेरै व्यक्तिहरू उनको आँगनसम्म पुग्ने गरेको सुनाइन् ।
मैले उनीतिर हेर्दै भने ‘म त दसैँ तिहार अगाडि नै आए नि’
(एकपटक हासको माहौल बन्यो । हामी दुवै गललल हाँस्यौँ ।)
उनले यस पेसालाई प्रवर्द्धन गर्न सरकारले कुनै चासो नदेखाएको गुनासो गरिन् ।
वास्तवमै उनले भनेजस्तै माटाको भाँडा बनाउने पेसालाई सरकारले अहिलेसम्म संरक्षण र प्रवर्द्धन गर्नका लागि कुनै कदमहरू चालिएको देखिँदैन । यसप्रति सरोकारवालाले ध्यान दिन आवश्यक देखिन्छ । नत्र नेपालको कला र संस्कृति झल्काउने यस ‘पेसा’ भविष्यमा लोप हुनसक्ने खतरामा छ ।
हेर्नुहोस् तस्बिरहरू :