माल्दिभ्समा काभा महिला क्लव भलिबल हुँदै,स्वर्ण जित्ने नेपालको लक्ष्य

काठमाडौं । माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलो पटक महिला क्लव भलिबल च्याम्पियनसिप शुरु हुँदैछ ।

उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लवले प्रतिस्पर्धा गर्दैछ । पुलिसले यसै च्याम्पियनसिपका लागि करिव एक महिना प्रशिक्षण गर्दै आएको छ ।

प्रशिक्षक रूपेश विष्टले लामो समयदेखि प्रभावकारी प्रशिक्षणसँगै सन्तुलित टोली रहेकाले सुखद् नतिजा पाउने आशा गरेका छन् । यसै च्याम्पियनसिपका लागि पुलिसले बाहिरको क्लबबाट पनि खेलाडी भित्राएको छ ।

एपिएफकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्युडायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई पुलिसले मालेमा हुने च्याम्पियनसिपका लागि भित्राएको हो । त्यसबाहेक पुलिसमा राष्ट्रिय टोलीका चार खेलाडी छन् ।

महत्वपूर्ण आउट साइड हिटर उषा भण्डारी र पुनम चन्द, अपोजिट हिटर कामना विष्ट, लिबेरो शान्तीकला तामाङले गत महिना मात्र काभा महिला नेसन्स लिगमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसबाहेक टोलीमा अनुभवी सेटर कमला पुन रहेकी छन् ।

उनलाई सरस्वती कट्टेलले सघाउनेछिन् । लक्ष्मी चन्द अपोजिट सेटर, कोपिला राना मिडल ब्लकर र मनिषा चौधरी गरी पुलिसको टोलीमा कुल १४ खेलाडी छन् । थप चार अफिसियलसहित पुलिस कुल १८ सदस्यीय टोलीसहित माल्दिभ्स प्रस्थान गर्दैछ ।

यस च्याम्पियनसिपका लागि आयोजक माल्दिभ्सको दुई टोलीसहित नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंकाका लिग च्याम्पियनले चुनौती प्रश्तुत गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । यद्यपि, केही दिनमा सहभागी टोली र समूहचरणबारे टुङ्गो लाग्ने चन्दले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *