‘मट्का’ले बजार पाउँदा उत्साहित प्रजापति (भिडिओ सहित)
माटोको भाँडा बेचेरै जेठो छोरालाई इन्जिनियर बनाएका उनका कान्छा छोरा ब्याचलर पढिरहेका छन्
काठमाडौँ । भक्तपुरको दुवाकोट मोड हुँदै पुरानो ठिमीसम्मको दुरीमा माटोका भाडा बनाउँदै गरेको थुप्रै मानिसहरूलाई देख्न सकिन्छ । ती नै माटोका भाडा बनाउने मानिसहरू मध्ये एक हुन् । सुरेन्द्र प्रजापति । उनको पुरानो घर भक्तपुरको ‘पोटरी स्क्वार’ को केही तल रहेको छ । अहिले उनी परिवारसँग भक्तपुरकै नेकोसेरामा बस्दै आएका छन् ।
उनका अनुसार उनका बाबु, बाजेले पनि माटाको भाडा बनाएर बेच्ने गर्थे । उनी सानो छँदा माटो मुछिदिएर बुबालाई सघाउने गर्थे । त्यसपछि बिस्तारै बिस्तारै उनले पनि भाडा बनाउन सिके ।
उनी भन्छन् ‘बच्चादेखि नै बनाउन थालेको हो । सानो हुँदा माटो मुछेर बुबाहरूलाई सघाउँथे । अहिले आफै गर्न सक्छु ।’
उनले अहिले माटोका गमला, खुत्रुके र मट्का बनाएर बेच्ने गरेका छन् । पहिले जस्तो आजभोलि माटोका भाडाहरू खास्सै बिक्री नहुने उनले बताए । उनले हालसालै रेस्टुरेन्टहरूमा मट्काको प्रयोग बढेकाले अन्य भाडाहरू भन्दा ‘मट्का’ सबैभन्दा बढी बिक्री हुने बताए ।
भने ‘हालसालै चैँ रेस्टुरेन्टहरूले खोज्ने भएकाले मट्का सबैभन्दा धेरै बिक्री हुन्छ । यही बनाएर बेच्छु ।’
उनले एउटा सानो मट्कालाई २५/ ३० रुपैयाँमा रेस्टुरेन्टहरूलाई बेच्ने गरेका छन् । अलि ठूलो मट्का बेच्दा ४५,/५० रुपैयाँसम्म पाउने उनले बताए ।
उनले अहिले बजारमा ‘मट्का’ को उत्पादन र किनबेचमा प्रतिस्पर्धा चलिरहेको बताए । अहिले बजारमा मट्कासंगै गमलाको पनि बिक्रिवितरण राम्रो भएको उनी बत्ताउँछन् ।
उनले भने ‘गमला पनि बिकी हुन्छ तर कम्पिटिशन छ, अहिले प्लास्टिकको गमला निस्किसक्यो । अन्य सामानहरू थोरै थोरै मात्र बिक्री हुन्छन् ।’
उनले गमला र मट्का बाहेकका भाँडाहरू खास्सै बिक्री नहुने बताए । प्रजापतिले यस पेसामा राम्रो आम्दानी गर्न, काम धेरै गर्नुपर्ने बताए ।
यसै अनुसार धेरै अर्डर भएको समयमा प्रजापति बिहान ६, ७ बजे नै उठेर मट्का बनाउन सुरु गर्छन् । त्यसपछि बेलुका आँखा देखुन्जेलसम्म उनी मट्कमा बनाइनै रहन्छन् ।
उनी भन्छन् ‘गाह्रो हुन्छ, दिनभरि डल्लोमाटो हातैले मुछेर बनाउनुपर्छ ।’
उनले यही पेसा गरेर दुई छोराहरूलाई ब्याचलर पढाए । अहिले उनका जेठा छोरा सिभिल इन्जिनियर बनिसकेको र कान्छा छोरा ब्याचलर पढ्दै छन् । उनले यस काममा आफूले जति गर्न सक्यो त्यत्ति नै आम्दानी गर्ने बताए ।
उनले भने ‘महिनाको यति नै हुन्छ भन्ने ठेगान नै हुँदैन ।’
उनले पानी पर्दा चैँ मट्का पोल्ने काम गर्न नसकिने बताए । उक्त बेला उनले मट्का बनाउने काम मात्र गर्छन् ।
उनका अनुसार घाम लागेको दिनमा मट्का सुक्न ३ दिन लाग्छ । सुकिसकेको मट्कालाई पनि १५ दिन पर्खेर मात्रै आगोमा पोल्नुपर्छ । राम्ररी सुक्न नपाएका भाडाहरू पकाउने क्रममा फुट्छन् ।
पोलेको जति नै भाडाहरू निस्कँदैनन् । धेरै मट्काहरू पोल्ने क्रममा टुट फुट हुने उनले बताए ।
भने ‘राम्ररी सुकेन भने पकाउँदा खेरि फुट्छ । पोल्ने दिनमा पानी पर्यो भने झन् धेरै नोक्सान हुन्छ ।’
मट्का पकाउँदा एक तल्ला पराल, भूस र अर्को तला भाँडो राखिन्छ । पराल अलिकति पुगेन भने डढेर यस्तो कालो हुन्छ । (उनी उभिए छेउको डढेको भाँडो देखाउने उनले भने) ‘अब फेरी पोल्नुपर्छ यसलाई ।’
यसरी काँचो भाँडोलाई ५ दिनसम्म भुङ्ग्रोमा पकाउनु पर्छ । अनि तयार हुन्छ, तपाई/हाम्रो ‘मट्का’ ।
उनले मट्का पोल्ने दिनमा पानी बर्सिँदा धेरै नोक्सान हुने जानकारी दिए ।
अहिले वोल्ड टाउन, बिरयानी अड्डा, लबिङ गार्डेन, आँगन मिठाई पसल र सघन गोष्ठीमा उनले बनाएको मट्का प्रयोग भइरहेका छन् ।
उनले यो काम जागिर खानुभन्दा पनि राम्रो भएको बताए ।
प्रजापतिका अनुसार अहिले यस पेसामा भएको जल्दोबल्दो समस्या भनेकै ‘माटोको अभाव’ हो । माटोको अभावले गर्दा नै धेरै जसोले यो काम छोडिसकेका छन् । उनीहरूले अहिले एक गाडी माटोको ६,७ हजार रुपैयाँ तिर्दै आएका छन् । त्यसक्रममा कतिपटक त नराम्रो माटो पनि पर्छ । उक्त बेला साह्रै समस्या हुने उनी बत्ताउँछन् ।
‘माटो नराम्रो पर्यो भने समस्या हुन्छ, बनाउनै सकिँदैन ।’
उनले सरकारलाई यो कामको लागि माटोको सहज उपलब्ध गराइदिन माग गरे । ‘यो ठाउँमा माटो छ’ भनेर सरकारले यकिन गरि तोकिदिन आग्रह गरे । अहिले भक्तपुर नगर पालिकाले व्यवसाय अनिवार्य दर्ता गर्न अनुरोध गरेको र तर सोही बमोजिम व्यवस्थापन नगरिदिएको उनले गुनासो गरे ।
उनले भने ‘सरकारले व्यवसाय दर्ता मात्र गरेर पनि हामीलाई केही व्यवस्थापन गरिदिएको छैन । माटाको व्यवस्थापन गरिदिन नगरपालिकालाई सुझाव दिन चाहन्छु ।’
हेर्नुहोस् भिडिओ :
हेर्नुहोस् थप तस्बिरहरू :