प्रधानमन्त्रीलाई रविको चेतावनी – उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् ।

बुधवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो भनी प्रश्न गरेको बताए । उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए ।

उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरू धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गरे । उनले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए ।

उनले भने – ‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरू आयो । विभिन्न प्रतिक्रियाहरू विभिन्न ठाउँबाट आएका हुनाले त्यसको वास्तविकता के हो ? के सोचिरहनु भएको छ ? यसको वास्तविकता जान्नु जरुरी थियो । त्यसकारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ, किनभने दुई तिहाइ सरकारका प्राथमिकताहरू धेरै छन् । दुई तिहाइ भनेको शक्ति हो । तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईँहरूले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर उहाँलाई मैले सौहार्दपूर्ण रूपमा यो गलत हुन्छ । यदि यस्तै हो भने जे सोचिरहनु भएको छ अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर मैले उहाँलाई बताए । उहाँले म छलफलमा छु । नेपाली काङ्ग्रेससँग पनि छलफल गर्छु भन्नुभयो । हामी संख्यामा कम छौँ । तर मेरो चेतावनी छ उहाँहरूलाई, संसदमा त संख्या पर्याउनुहोला । यद्यपि चुनावमा त मतदाताले काँग्रेसलाई भोट हाल्ने र एमालेलाई भोट हाल्नेहरूले सँगै मिलेर सरकार चलाऊँ है भनेर भोट दिएका त होइनन् जस्तो मलाई लाग्छ । तैपनि त्यो दुई तिहाइको दम्भ उहाँहरूले लिनुभयो भने त्यो भन्दा धेरै जनता त बाहिर छन् नि । सडकमा छन् । संसदको अङ्कगणित भन्दा धेरै जनता बाहिर छन् । काँग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्नसक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन् यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ । उहाँहरूको यो आत्मघाती गोल हुन्छ । आफ्नै पोष्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र ?’

सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *