सांसदहरू भन्छन् – स्वर्गीय सुवासचन्द्र नेम्वाङको अभाव खड्कीरहेको छ

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खड्कीको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका नेम्वाङको व्यक्तित्व र नेतृत्वको आज संसदमा पनि अभाव भएको उनीहरूले महसुस गरेका हुन् ।

स्वर्गीय नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा सांसदहरूले उनले संविधान निर्माण र नेपाल संसदीय व्यवस्थाको मूल्य र मान्यतालाई स्थापित गराउन खेल्ने भएको नेतृत्वदायी र सन्तुलित भूमिकाको नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख समेत गरेका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उनले संविधान सभाको अध्यक्षको रूपमा संविधान निर्माण, सभामुखको रूपमा संसद र संसदीय व्यवस्थाको उन्नयनमा खेल्नुभएको भूमिका नेपाली जनताले सदा स्मरण गरिरहने बताए ।

उनले नेम्वाङलाई संसदलाई संसदलाई रचनात्मक र सृजनात्मक ढङ्गले अघि बढाउन नेतृत्वदायी भूमिका खेलेको पनि स्मरण गरे ।

प्रमुख सचेतक बर्तौलाले भने ‘आज भदौ २६ गते सुवाषचन्द्र नेम्वाङको निधन आएको आज प्रथम स्मृति दिवस । नेपालको संविधान निर्माणका लागि असाधारण भूमिका निर्वाह गर्नुभएका, नेपालको संसदीय प्रक्रिया र संसदीय व्यवस्थामा समेत उहाँले सिङ्गो संसदलाई रचनात्मक र सृजनात्मक ढंगबाट अगाडि बढाउन असाध्यै नेतृत्वदायी र असाधारण भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तो व्यक्तित्व हामीले गुमायौँ । म यस क्षणमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । उहाँले आफ्नो जीवनकालमा नेपालको एउटा संसदीय प्रणालीलाई जीवन्त राख्नका लागि, संविधान निर्माणका लागि खेल्नुभएको असाधारण भूमिकाप्रति सदैव नेपाली जनताले सम्झिरहने छन् ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वर्गीय नेम्वाङको सन्तुलित व्यक्तित्वले कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई अघि बढाउन दिएको योगदानको पनि स्मरण गराए । उनले नेम्वाङ संविधान निर्माण र संसदमा गर्नुभएको नेतृत्वको जति प्रशंसा गरेपनि कमी हुने बताए ।

प्रमुख सचेतक पाण्डेले भने ‘नेपालको संविधान निर्माणमा सम्माननीय सुवास नेम्वाङको आज प्रथम स्मृति दिवस । यतिखेर म हाम्रो दलको तर्फबाट र आफ्नो तर्फबाट समेत सम्माननीय संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङप्रति सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँले संविधान निर्माण गर्नका लागि निर्वाह गर्नु भएको महत्त्वपूर्ण जो भूमिका छ । त्यसलाई स्मरण गर्दै उहाँको जो व्यक्तित्व थियो । उहाँले जसरी संविधानसभा मात्रै होइन, प्रतिनिधि सभा सँगसँगै समग्र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सहकार्यका लागि जो सन्तुलित भूमिका निर्वाह गर्नुहुन्थ्यो । त्यसका लागि पनि उहाँको विचार, व्यवहारबाट सिक्न म सम्माननीय सभामुखज्यूमार्फत समग्र यस सभाका माननीय सदस्यहरूसँग आग्रह गर्दछु । मलाई लाग्छ–हामीले जसरी ठुलो बलिदानबाट सङ्घर्ष गरेर जनताको प्रतिनिधिमार्फत संविधान बनाउने कुरा गर्यौं ।’

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसदमा नेम्वाङको नेतृत्व र व्यक्तित्वको आज पनि अभाव महसुस भइरहेको बताए । संसदमा हाल तिक्तता बढ्दै गइरहेको उल्लेख गर्दै यस्तो बेलामा आफूलाई संसदमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेम्वाङको याद आइरहेको उनको भनाई थियो । सांसद झाले नेताहरूलाई खुसी पार्न दिइने अभिव्यक्तिले संसदमा समस्या खडा गर्ने गरेको उल्लेख गर्दै यस्तो बेलामा साझा र सन्तुलित भूमिका खेल्नसक्ने नेम्वाङको स्मरण सबैमा हुने गरेको उल्लेख गरे ।

उनले भने ‘म आज संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । हामी केही सीमित भाग्यमानी राजनीतिज्ञहरूमध्ये केही समय उहाँसँग संगत गर्न पाएका थियौँ । मैले उहाँसँग एक पटकसँगै युरोप भ्रमण गर्ने अवसर पनि भएको थिए । त्यो बेलामा धेरै कुरा सिक्न पाएको थिए । एउटा शालिन व्यक्तित्व, एउटा सन्तुलित व्यक्तित्व, एउटा साझा व्यक्ति हाम्रो लागि हुनुहुन्थ्यो । र आज सदनमा यताबाट उता सर्ने बित्तिकै हामीले आफ्नो जुन आचरणहरूमा परिवर्तन लिएर आउँछौँ । र आफ्नो बोलीहरूमा परिवर्तन लिएर आउँछौँ । त्यो बेलामा त्यो सन्तुलित व्यक्तित्व अझै त्यसको कमी महसुस हुन्छ । हामीलाई त्यो साझा व्यक्तित्व अझै चाहिएको छ जस्तो महसुस हुन्छ । अहिले त हामी नेतृत्वले के चाहन्छ ? हामीले के गर्दाखेरि नेतृत्व खुसी हुन्छ भन्ने अभिव्यक्ति भित्र र बाहिर बोलिदिने गर्दछौँ । तर मेरो व्यक्तित्वले के बोल्नुपर्ने हो, त्यो नेतृत्वको रिझाईको क्रममा त्यो व्यक्तित्व बिर्सिने गरेका छौँ ।’

सांसदहरूले स्वर्गीय नेम्वाङले संविधान निर्माणमा र संसदलाई प्रभावकारी बनाउने विषयमा दिनुभएको योगदान अतुलनीय रहेको पनि बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *