उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ : कांग्रेस सांसद गौतम

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिएकी छन् ।

उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने उनको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजानका लागि सिफारिस गर्ने कुरा पदीय जिम्मेवारी विपरीत र अपराधजन्य कार्य भएको पनि बताइन् । उनले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उहाँबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताइन् ।

सांसद गौतमले भनिन् ‘यस सभामा उपसभामुखमाथि प्रश्न उठेका छन् सभामुख महादेय । प्रश्न इन्दिरा रानामगरमाथि होइन, उपसभामुख इन्दिरा राना मगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको कुरा हो । उपसभामुख जस्तो जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग हो । र, यो गम्भीर अपराध समेत हो । जसको सन्दर्भमा स्वयम उपसभामुखज्यूले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुराहरू स्वीकार गरिसक्नु भएको छ । यसबारेमा म धेरै भन्न चाहन्न । उपसभामुख महोदय, यहाँ करुणाको कुरा उठ्यो । संख्याको कुरा पनि उठ्यो । महिलाको कुरा पनि उठयो । तर यहाँ विषय करुणा र संख्या अनि महिलाको होइन । संविधान र कानुनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरो हो सभामुख महोदय । मेरो उपसभामुखज्यूलाई आग्रह छ–तपाईँले इमानको मानक राख्नुस्, मार्ग प्रशस्त गर्नुस् । उपसभामुख पदबाट राजीनामा दिनुस् ।’

सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *