एमालेद्धारा पूर्वमुख्यमन्त्री कार्कीको अनशनलाई ‘नौटङ्की’को संज्ञा

विशेष समिति बनाएर छानबिन र कारबाही गर्नुपर्ने माग

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य केदार कार्कीले थालेको आमरण अनशनले प्रदेश सभालाई लज्जित बनाएको भन्दै नेकपा एमालेले प्रश्न उठाएको छ ।

बुधवार बसेको कोशी प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलचन पाठकले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य कार्कीको आमरण अनशनलाई ‘नौटङ्की’को संज्ञा दिँदै लज्जित र गम्भीर बनाएको बताए ।

अनशनको नाममा भएको अराजक हर्कतले संसदीय मूल्यमान्यताको धज्जी उडाउने काम भएको उनले बताए । संविधान धारा १८७ मा भएको व्यवस्था अनुसार यस्तो हर्कत गर्ने व्यक्ति उपर विशेष समिति बनाएर छानबिन र कारबाही गर्नुपर्ने उनले माग राखे ।

‘पूर्व मुख्यमन्त्री समेत भईसकेका व्यक्तिबाट संसदीय मर्यादाको धज्जी उडाउने काम भएको छ । गत आर्थिक वर्षमा रातो किताबमा आएका योजनाहरू कटौती गर्ने काम कसले गरेको हो, उहाँले मुख्यमन्त्री भएको बेला काटेको हैन ? के त्यसो भए सबै माननीय ज्युहरू त्यसरी अनसन बस्नु पर्थ्यो’ उनले प्रश्न गर्दै भने ।

कार्की मुख्यमन्त्री र स्वास्थ्य मन्त्री रहेको बेलामा २ करोड भन्दा बढी भुक्तानी दिन बाँकी रहेको उल्लेख गर्दै सांसद पाठकले फर्जी बिल विवरण पेस गर्ने काम कार्कीबाट नै भएकोले यसको जवाफ पनि दिनुपर्ने बताए ।

‘सरकार बनाउने प्रक्रिया अनुसार बहुमतले सरकार बनाउँछ, बजेट ल्याउँछ कार्यान्वयन गर्छ,प्रदेश सभा सदस्य पाठकले भने,‘सोही अनुसार सरकार बन्यो, बजेट ल्यायो । बजेट प्रति केही औचित्यहीन विषय बनाएर प्रदेशका विषयमा भ्रम फैलाउने र अन्योल सिर्जना गर्ने काम गरिएको छ।’ बजेटका नामबाट जनतालाई भ्रममा पारेर अन्यौलता सिर्जना गर्ने सांसद कार्कीबाट भएकोले यो विषयलाई प्रदेश सभाले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।

प्रदेश सभा सदस्य केदार कार्कीले अनशन बसेका विषयहरूमा कुनै पनि बजेट अहिलेको सरकारले नकाटेको र बजेट बढाएर जिल्ला जिल्लामा नै कार्यक्रमहरू पुगेको उनले बताए ।

दश वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञ सेवा,महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन र व्यवस्थापन लगायतमा प्रशस्त बजेट विनियोजन भएको रातो किताबमै रहेको भए पनि कार्की लास्ट बेन्चर भएकै कारण अध्ययन नपुगेको भन्दै उनले कटाक्ष समेत गरे ।

प्रदेश सरकारसँग दश वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा नि:शुल्क लगायतका विभिन्न ९ वटा माग राख्दै उनी मंगलबारदेखी आमरण अनशन बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *