ओलीसँगको भेटमा प्रचण्डले भने– संवैधानिक पदमा भोली नै सिफारिस गरौँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारीका लागि छलफल तीव्र बनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा शुक्रवार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिएका छन् ।
प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्डले शुक्रवार बस्ने संवैधानिक निकायको बैठकबाट सम्भव भएसम्म सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
शीर्ष नेताहरूको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।