सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार पाँचौँ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले कानुन, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताए । उनले व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरू अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गरे ।
उनले पूर्वाधार विकासलाई प्रवर्द्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गरे । उनले मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकूल नीति अवलम्बन गर्दै आएको बताए । उनले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको बताए ।
उनले भने ‘पूर्वाधार विकासलाई प्रवर्द्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहन्छ । मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकूल नीति अवलम्बन गर्दै आएको छ । पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ । यसका लागि हामीले सार्वजनिक निजी साझेदारीका लागि अुनुकुल वातावरण सिर्जना गरेका छौँ । पूर्वाधार लगायतका परियोजनाहरूमा स्वदेशी तथा बाह्य लगानीकर्ताहरूलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको छ । पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको छ । नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न वर्तमान सरकार प्रतिबद्ध छ । कानुन, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ छ । व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरू अघि बढाउँदै जानुपर्ने अवस्था छ ।’
अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरूमा स्वदेशी तथा बाह्य लगानीकर्ताहरूलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताए ।