प्रस्तावित राजदूत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन् ।

बिहीवार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताएका हुन् ।

उनले द्विपक्षीय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताए । उनले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताए ।

उनले विगतमा भएका प्रतिवद्धताहरु नवीकरणका लागि र द्विपक्षीय हितका नयाँ विषयहरू अगाडी बढाउन पनि भ्रमणको महत्त्व रहेको उल्लेख गरे । रेग्मीले आफूले आर्थिक कूटनीतिमा पनि ध्यान पुर्‍याउने बताए । उनले अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताए । दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने उनको भनाई छ ।

उनले भने ‘संयुक्त राज्य अमेरिकाको विश्वास, सद्भाव र सहकार्य दुईटैलाई बढाएर लिएर जानका लागि, अझ गहिरो बनाउनका लागि, अझ सुदृढ र प्रभावकारी बनाउनका लागि मैले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रयास गर्नेछु । द्विपक्षीय सम्बन्धलाई राम्रो बनाउनको लागि उच्चस्तरका भ्रमणहरूका आदान–प्रदानहरू, प्राविधिकहरूका बिचको आदान–प्रदानहरू विभिन्न तहका आदान–प्रदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हाम्रो अनुभव छ । र प्रतिवद्धताहरुलाई नवीकरण गर्नका लागि र द्विपक्षीय हितका नयाँ विषयहरूमा प्रवेश गर्नका लागि यस्ता भ्रमणहरूको शिखर महत्त्व रहने गर्दछ । अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरूबाट नेपालको भ्रमण र नेपालको संसदलाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्गप्रशस्त गर्नका लागि योगदान पुग्छ की  ? अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाइ लागेको छ । त्यसको लागि ग्राउन्ड वर्क गर्नका लागि म आफू उत्सुक छु । संसदको तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ । अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले अमेरिकास्थित नेपाली राजदूतावासलाई ‘स्मार्ट राजदूतावास’ बनाउने प्रतिबद्धता व्यक्त गरे । दुतावासको क्षमता विकास गर्दै रेकर्ड सिस्टमलाई व्यवस्थित बनाउने बताए । उनले गैर आवासीय नेपालीहरूको हितमा खटेर काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *