कोलम्बो ’आर्ट एक्स्पो’मा सुमनका मिथिला चित्रकला प्रदर्शित

काठमाडौं । चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी भएका छन् ।

अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी भएका सुमनले मिथिला चित्रकला प्रदर्शन गरेका छन् । उनको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रह्माण्ड जगत्को भाव समेटिएको छ ।

एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताए । एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उनले बताए ।

‘सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ’, उनले भने, ‘यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।’ एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिए । चारदशकदेखि मिथिला कलामा सक्रिय उनले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गरेका छन् ।

‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलङ्काको कला सङ्कायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन् ।

सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *