जुत्ता सिउने सार्की समुदायलाई हटाएपछि चौतर्फी विरोध,क्रुर र अमानवीय घटना भन्दै मिजार समाजले गर्‍यो निन्दा

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीमा दुई दशक देखी जुत्ता,चप्पल सिलाएर जीविकोपार्जन गर्दै आएका सार्की समुदायलाई एकाएक नगरपालिकाले हटाएपछि चौतर्फी विरोध भएको छ ।

सडक पेटीमा बसेर जीविकोपार्जन गर्दै आएका सार्की समुदायका ६ जनालाई बैकल्पिक व्यवस्था नै नगरी नगरपालिकाले हटाएपछि चौतर्फी विरोध भइरहेको हो ।

यसै विषयलाई लिएर मिजार समाज नेपाल सुदुरपश्चिम प्रदेशले नगरपालिकाको उक्त कार्यप्रति आपत्ति जनाएको छ । मिजार समाज नेपाल सुदुरपश्चिम प्रदेशले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाको उक्त कार्य क्रुर र अमानविय घटना भएको भन्दै निन्दा र भर्त्सना गरेको छ ।समाजले सार्की समुदायका व्यक्तिहरुको जीविकोपार्जनका लागि व्यवसायिक पुन:स्थापनाको माग समेत गरेको छ ।

मिजार समाज नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष राजुराम सार्की भुलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिामा भनिएको छ,‘‘झलारी बजारमा झण्डै दुई दशक अघिदेखी सडक किनार तथा पेटीमा जुत्ता,चप्पल सिलाएर जीविकोपार्जन गर्दै आइरहेका सार्की समुदायलाई मिति २०८१/५/२६ गतेका दिन शुक्लाफाँटा नगरपालिकाबाट खटिई आएका नगर प्रहरीले बैकल्पिक व्यवस्था नै नगरी सडक पेटीमा बसेका ६ जना सार्कीहरुलाई लछारपछार गरी नगद रुपैयाँ,जुत्ता,चप्पल,सिउने सामाग्री एवं लुगाफाटो समेत अमानवीय ढंगबाट दादागिरी शैलीमा जफत गरी विचल्ली पारेको भन्ने अनलाइन मिडियामा प्रकाशित समाचारले अत्यन्तै दुखी र मर्माहत बनाएको छ,यस्तो खालको क्रुर र अमानवीय घटनाको कडा शब्दमा घोर निन्दा र भर्त्सना गर्दछौँ ।”

मिजार समाजले निज व्यक्तिहरुबाट नगरपालिकाले खोसेर लगेका सामाग्रीहरु फिर्ता सहित उचित क्षतिपूर्ति दिन समेत भनेको छ । साथै घृणित कार्य गर्ने,गराउनेहरुमाथि आवश्यक अनुसन्धान तथा छानविन गरी कारबाही गर्न माग गरिएको छ ।

‘‘संविधानत: दलित समुदायका पुर्ख्यौली शिल्पी,पेशाा व्यवसायलाई बिना भेदभाव अंगाल्न पाउने अधिकारको सम्मान गर्दै शुक्लाफाँटा नगरपालिकाले सार्की समुदायबाट खोसेका नगद रुपैयाँ,जुत्ता,चप्पल,लुगाफाटो लगायतका सिउने सामाग्रीहरु यथाशीघ्र फिर्ता गरी उचित क्षतिपूर्ति सहित निज सार्की समुदायका व्यक्तिहरुको जीविकोपार्जन गर्न व्यवसायिक पुन:स्थापना गराइदिन र उक्त घृणित कार्य गर्ने, गराउनेहरु उपर आवश्यक अनुसन्धान तथा छानविन गरी नेपालको संविधानको धारा २४ र धारा ४० बमोजिम हदैसम्मको कानूनी कारबाही गरिदिन हुन नेपाल सरकार,गृह मन्त्रालय,राष्ट्रिय दलित आयोग,राष्ट्रिय मानवअधिकार आयोग लगायतका सम्बन्धित निकायसंग यसै प्रेस विज्ञप्तिमार्फत जोडदार अपिल गर्दछौँ,”अध्यक्ष भुलद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

सडकमै व्यवसाय सञ्चालन हुँदै आएका कारण बजार र राजमार्गको सौन्दर्य कुरुप बन्दै गएको,सडक दुर्घटना वृद्धि,आवागमनमा असहज भएको भन्दै नगरपालिकाले सडक अतिक्रमण खाली गरिरहेको छ ।

मिजार समाज नेपालका प्रदेश अध्यक्ष राजुराम सार्की भुलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *