लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि होटल पूर्वाधारको महत्वपूर्ण भूमिका रहेकोे बताएका छन् ।

क्यापिटल नेपाल बिजनेस म्यागेजिनले आयोजना गरेको होटेलियर समिटको उद्धघाटन गर्दै उनले पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै भने,“सरकारको पहिलो प्राथमिकता नीतिगत सुधार गरेर समस्याको पहिचान, समन्वय र सहकार्य गरी अहिलेको चनौतीलाई सम्भावनामा बदल्नुपर्नेछ ।”

उद्योगमन्त्री भण्डारीले सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटनमा लगानी गर्न बैंक तथा वित्तीय क्षेत्रलाई लगानी गर्न आग्रह गरे । सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रबीच विश्वासिलो वातावरण आजको आवश्यकता भएको उनको भनाइ छ ।

मन्त्री भण्डारीले नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको योगदान बढाउन अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली तथा अन्तर्राष्ट्रिय वायुयानको सङ्ख्या बढाउनुपर्ने बताए ।

“यसका लागि थप देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने, विमानस्थल स्तरोन्नति, पर्यटकीय पूर्वाधारको विस्तार हुन आवश्यक छ”, उनले भने,“पर्यटकको औसत बसाइँ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ पर्यटकीय पूर्वाधारको विकास तथा विस्तार, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवर्द्धन गरी थप विकास गर्नुपर्नेछ ।”

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्न नेपालमा प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा पर्यटन व्यवसायीसँग सहकार्यका लागि सरकार सदैव तयार र प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र व्यावसायिक वातावरण बनेको बताए । उनले विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताए ।

पर्यटनको महत्वपूर्ण हस्पिटालिटी क्षेत्रमा तारे होटल थपिँदै गएकाले पर्यटन पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गभर्नर अधिकारीले बताए ।

सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटल भित्रिरहेका र यसले पर्यटनमा विश्वको ध्यान खिचेको धारणा राखे ।

“नेपालको मुहार फेर्ने भनेको पर्यटन र होटेल पूर्वाधार हो । नेपाललाई विश्वको आकर्षक गन्तव्य बनाउन यी उद्योगलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ”,उनले भने ।

नेपालमा पछिल्लो समय सबैभन्दा बढी लगानी भएको क्षेत्रमध्ये होटल पनि एक हो । नेपालमा बाह्य पर्यटकको लागि सन् १९५१ बाट पर्यटन भिसा दिन सुरु गरिएपछि सोही समयमा पर्यटक केन्द्रित होटल खुलेको थियो । तारे होटल खुल्न लागेको पनि ७० वर्ष हुन लाग्यो । यसबीचमा विश्व प्रख्यात चेन होटल नेपाल आइसकेका छन् भने केही आउने क्रममा छन् ।

सरकारी तथ्याङ्कनुसार नेपालमा पाँचतारे होटल एक सय ८२ र पर्यटकीय होटल, लज तथा रिसोर्टको सङ्ख्या १२३४ रहेको छ । नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको सङ्ख्या ३१ पुगेको छ ।

कोभिड महामारीको अगाडिका दुई वर्ष १० लाख भन्दा बढी पर्यटक भित्रिएको र गत वर्ष पनि १० लाख भन्दा बढी पर्यटक भित्रिएका छन् । सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणबाट रु ६८ अर्ब सात करोड आय भएको थियो ।

पर्यटकको औषत बसाइँ १३ दशमलव दुई दिन र औषत खर्च प्रतिदिन ४१ अमेरिकी डलर रहेको छ । नेपालमा सबैभन्दा बढी बिदा मनाउन, मनोरञ्जन गर्न, पदयात्रा र पर्वतारोहणका लागि पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढिरहेको पाइन्छ ।

चालु आवको बजेट वक्तव्यमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धनका कार्यकम सञ्चालन हुने, नयाँ गन्तव्य पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमतिलाई स्वचालित प्रणालीमा आधारित बनाइने, नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने सरकारको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *