कुन विधामा कसले जिते पल्सर स्पोर्ट्स अवार्ड ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रवार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

रोहितले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, गल्फका सुवास तामाङ र करातेका मोहमद शेख आलमलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।

रोहितले विस २०८० मा २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३ अर्धशतक सहित ६८० रन बनाएका थिए । यसैगरी उनले पाँच विकेट पनि लिएका थिए ।

यस्तै उनले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतसहित ५२५ रन बनाउनुभएको थियो भने १० विकेट पनि लिएका थिए । उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै उनले एक थान पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।

उक्त अवार्डका लागि कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए । यसैगरी नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जित्न सफल भए ।

नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा उनी नेपाली टोलीको सदस्य थिइन् ।

उक्त उपाधिका लागि गुलशन झा (क्रिकेट), मानमति विष्ट (कबड्डी) प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) का खेलाडी नाम मनोनयनमा परेका थिए ।

नेपालमा क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍यएका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डे जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट सङ्घ स्थापना हुँदा महासचिव थिए ।

त्यस्तै २००५ देखि २०११ सम्म उनी अध्यक्ष भएका थिए । पाण्डे क्रिकेट सङ्घको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो भने नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै भारोक्तन खेलका हेमन्त पाल प्लेयर अफ दि इयर घोषित भए । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए । उक्त अवार्डका लागि क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, र टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा एथलिट अवार्डको उपाधि जितिन् । यसै महिना फ्रान्सको पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशाले पारा एथलिट अवार्ड जितेकी हुन् । तर यो अवार्ड भने उनले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन् ।

वि.सं. २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । उक्त अवार्डसहित उनले रु एक लाख प्राप्त गरिन् ।

त्यसैगरी पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्ड भने भलिबलका कुमार राईले प्राप्त गरे । उनले नेपाली भलिबल खेलमा राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी जन्माउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड भने नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ । चीनको हाङचाउमा भएको १९औँ एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो । नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो ।

यसैगरी १९औँ एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भए । यस अवार्डको लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कविराज नेगी लामा, भारात्तोलनका प्रशिक्षक सञ्जय महर्जन मनोनयनमा परेका थिए ।

वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई जनही एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गरे भने बाँकीका विजेताले जनही रु एक लाख प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, आयोजकका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *