‘आहा ! जिरी मनमोहक रहेछ’

काठमाडौं । क्यानभासमा कैद भएका पर्यटकीयस्थल जिरीका तस्वीर हेरेर नलोभिने कमै होलान् । चित्र नियालेपछि पाका कलाकार रमेश खनालले प्रतिक्रिया दिए,“ आहा ! जिरी साँच्चिकै मनमोहक रहेछ ।”

बानेश्वरस्थित उमोजा क्याफेमा पर्यटकीय नगर जिरीको सौन्दर्य प्रचार गर्ने उद्देश्यले आजदेखि सुरु भएको ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीमा भेटिएका उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

टुरिजम प्रमोशन फोरम नेपालले आयोजना गरेको तीनदिने चित्रकला प्रदर्शनीको पहिलो दिन आज चित्रकला हेर्ने युवाहरूको पनि त्यत्तिकै घुइँचो थियो । प्रदर्शनीमा दोलखाको जिरीमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मीकलगायत स्थानीय जीवनशैलीका रोचक आकृति उतारिएका छन् ।

कलाकार केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव सिर्पाली गरी छ कलाकारले बनाएका एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी चित्र सिर्जना गरेका छन् ।

प्रदर्शनीका संयोजक लीलाराम खड्काले जिरीको सौन्र्दय प्रचार गर्न सकिए आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने बताए । उनले कलाकारलाई तीन दिनसम्म जिरीमा राखेर प्रत्यक्ष दृश्यावलोकन गरी देखेका, भोगेका र महसुस गरेका आकृति क्यानभासमा उतार्न लगाएको जानकारी दिए ।

“पर्यटकमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्र्दय, जनजीवन, संस्कृति, वास्तुकला र सम्पदालाई कलाकारले क्यानभासमा उतार्नु भएको छ । यसमार्फत कला र जिरीको सौन्दर्य एकसाथ पस्किन खोजेका छौँ”, खड्काले भने । कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटक कुरेर बसेको उनले सुनाए ।

जिरीमा रहेका ताल तलैया, झरना, मठमन्दिर, गुम्बा, प्राकृतिक उद्यान, हिँउ, याक आदि प्राकृतिक दृश्य समेटिएका ३६ थान चित्र प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *