चक्रपथ विस्तार विलम्बले बेहाल (फोटो कथा)

चक्रपथअन्तर्गत कलंकी-वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भएपनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया सुरु भएको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै सुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।

२०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम सुरु भई २०७५ सालमै सकिएको थियो । पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक बिस्तार सुरु हुनुपर्ने थियो । थर विभिन्न कारणवश अहिलेसम्म पनि सुरु हुन सकेको थिएन । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्व तयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो ।

यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्व तयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुप-यो । र अहिले पनि जारी छ ।

सडक बिस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरू अहिले पनि प्रशस्त देखिन्छन् । बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरूको छ ।

यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक बिस्तारको कामलाई तीव्रता दिन आन्दोलनसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *