अभ्यास खेलमा नेपालको विजयी सुरुवात

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपि जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

२ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडे । नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४७।५ ओभरमा २ सय ४७ रनमा अल आउट भएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडे । कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१, गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

जगुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २ तथा जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माले समान १ विकेट लिए ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *