काँग्रेसी पढ्दैनन्, कम्युनिष्टले छोडिसके : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा काँग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पठ्ने गरेको स्मरण गरे । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताए ।

उनले काँग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिष्टहरु पनि अध्ययनमा रुची राख्न छोडिसकेको बताए । उनले वैकल्पिक शक्तिहरुले अध्ययनमा केही मेहनत गरेपनि अरण्य रोदन जस्तो हुने गरेको बताए ।

उनले भने– ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरु त्यत्रो भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा काँग्रेस, कम्युनिष्ट सबै साथीहरु जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिष्टहरु अलि बढी जो पढ्ने हो कम्युनिष्टहरु पनि अब कुनै खास फरक छैन । उहाँहरुले पनि पढाइलेखाइमा रुची राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढंगले जानुपर्छ, भन्नेहरु पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि अरण्य रोदन जस्तो भइरहेको छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुशीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए ।

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले समावेशी र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *