चौधर नदीले कटान गर्दा बस्ती जोखिममा

कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गासमेत कटानी गरेको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए । “थोरै जग्गा थियो, त्यै जग्गा पनि नदीले बगाएको छ, घरसमेत उच्च जोखिममा परेको छ”, उनले भने । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सृजना भएको ओडले बताए ।

यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले यसरी नै जग्गा कटानी गर्दै आएको छ ।

यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए । “तटबन्ध निर्माणका लागि पटकपटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनवाइ हुन सकेको छैन”, उनले भने ।

सार्कीकाअनुसार धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको छ । अब चाँडै तटबन्ध निर्माण नभए पूरै गाउँका बासिन्दाले विस्थापन हुनुपर्ने अवस्था रहेको उनले बताए ।

यसैगरी, कृष्णपुर नगरपालिका–२ बङ्कस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटानी गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको बताए ।

“दुई सय मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ । रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दर्छौं”, उनले भने ।

वडाअध्यक्ष अर्जुन साउँदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइने बताए । उनले भने“तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *