सरकारले कुलमान घिसिङलाई हटाउन खोजे ठुलो मूल्य चुकाउनुपर्छ : अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुलमान घिसिङलाई हटाउन खोजे ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् । मोरङको ग्रामथानस्थित नेता चोकमा शनिवार आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले माओवादीलाई होच्याउने काम भए अर्को आन्दोलन गर्ने चेतावनी समेत दिए । माओवादीले लडेर आएको व्यवस्थामा बसेर माओवादीलाई नै हेला होचो गर्न कोसिस गरिए फेरि आन्दोलन हुने उनले बताए । होच्याउने, उपेक्षित गर्ने काम भए माओवादीले अर्को आन्दोलन गर्न सक्ने उनको भनाई थियो ।

आफूले भनेको कुरालाई बङ्ग्याएर नेकपा एमालेले भ्रम फिँजाउन खोजेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाइदिने बताए ।

“उनीहरूले सत्य र न्यायको गला रेट्ने प्रयास गरे भने दलाल र भ्रष्टहरूको विरुद्ध उठ्नु पर्ने हुनसक्छ । जीवनको उत्तरार्ध भए पनि मेरो जोस मरेको छैन,अझै बढ्दै गएको छ। भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा लड्ने जोस आएको उनको भनाई थियो । मरेपछि पनि बाँचिरहने बन्ने मेरो प्रयास छ,”अध्यक्ष प्रचण्डले भने ।

आफु सरकारको नेतृत्वमा हुँदा सरकारले भ्रष्टाचारको विरुद्ध, सुशासन,सामाजिक न्यायको क्षेत्रमा काम गरेको बताउँदै आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको उल्लेख गरे ।

यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बिआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको बताए ।

पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।

उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्‍याउने दाबी गरे । दुई तिहाइको सरकार छ भनेर दम्भ देखाए भने बङ्गलादेशको उदाहरण दिँदै उनले शतप्रतिशत मत ल्याएको उद्दाम हुसेनको उदाहरण हेर्न सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *