‘हिंसा’ शब्दले गर्माएको संसद्‌मा आज के होला ?  

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ सदनमा पेश गर्नेलगायतका सम्भावित कार्यसूची तय गरिएका छन् ।

तर, संसद्मा अवरोध गर्ने नेकपा माओवादी केन्द्रको अडान छ । उसले संसद् अवरोध गर्ने कारण हो- जनयुद्धलाई अपमानित गर्ने गरी संसद्मा हिंसा शब्दको प्रयोग गरिनु ।

गत भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि माओवादी सांसदहरूले उक्त शब्दलाई संसद्को रेकर्डबाट हटाउन माग गरिरहेको छ । तर,माओवादी केन्द्रको उक्त माग सम्बोधन हुन सकेन । अर्थात् सभामुख देवराज घिमिरेले सांसद योगेश भट्टराईले संसद्मा बोल्दा प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरे ।

हिंसा शब्द संविधान विपरीत भएको भन्दै बुधबारको प्रतिनिधि सभा बैठकमा असन्तुष्टि जनाएका माओवादी सांसदहरू सभामुखले हटाउन नपर्ने रुलिङ गरेपछि थप आक्रामक बने ।

माओवादीकै कारण बुधवारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न नपाई स्थगित हुन पुग्यो । हिंसा शब्दलाई लिएर माओवादी र एमालेका सांसदहरुबीच चर्काचर्की नै भयो ।

जनयुद्धलाई हिंसाको रूपमा व्याख्या गरिएको भन्दै नेकपा माओवादी केन्द्रले संसद्मा विरोध जनाएको छ । नेकपा एमालेका सांसदहरूले जनयुद्धलाई हिंसाका रूपमा लिएपछि संसद्मा विरोधको सिर्जना भइरहेको  हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा प्रयोग हुने शब्द संविधान भन्दा फरक हुने हो भन्दै प्रश्न गरे । संविधानमा नै जनयुद्ध उल्लेख गरिएको बताउँदै उनले संविधान भन्दा माथि कोही नहुने बताए । जनयुद्धलाई अपमानित गर्ने हिंसा शब्द फिर्ता नलिएसम्म संसद्को अवरोधलाई जारी राख्ने उनको अडान छ ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधान विपरीत जाने छुट कसैलाई नभएको बताउँदै हिजोको आन्दोलनलाई हिंसा भनेर शान्ति प्रक्रियालाई बिथोल्न खोजेको बताए ।

संविधान प्रतिकुल हुने शब्दहरूले प्रति गम्भीर आपत्ति रहेको भन्दै शब्द सच्याउन आग्रह गरे । एमाले सांसद रघुजी पन्तले संसद्मा पटक-पटक हिंसा शब्द प्रयोग गरिएको तर्क गरेका छन् । सभामुखको रुलिङ मानेर अघि बढ्नु सबैको दायित्व भएको उनको भनाई छ ।

माओवादीले संसद्को हुर्मत लिने काम गर्दैछ : एमाले 
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रले संसद्को हुर्मत लिने काम गरिरहेको बताएका छन् । मकालुखबरसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले भने, ‘माओवादी केन्द्र संसदीय व्यवस्थाप्रति जिम्मेवार भएको छैन । संसद्को प्रक्रियाप्रति जिम्मेवार छैन, इमान्दार छैन, छलकपटको राजनीतिमा लागेको छ । समग्रमा माओवादीले संसद्को हुर्मत लिने काम गरिरहेको छ ।’

प्रमुख सचेतक बर्तौलाले माओवादीको विरोध सरकारका विरुद्ध हो वा सभामुखका विरुद्ध हो त्यो घोषणा गर्नुपर्ने बताए । उनले आफ्नो पक्षमा निर्णय नभए विरोध गर्नुको औचित्य नरहेको बताए । कुनै पनि सांसदहरूले नियमापत्ति गर्न पाउने भएपनि सभामुखले गरेको रुलिङ सबैले मान्नुपर्ने बर्तौलाले बताए । माओवादीले गरेको संसद् अवरोधको निर्णय सच्याउनुपर्ने उनले बताए । उनले सभामुखलाई दम्भ देखाउने, धम्क्याउने, चेतावनी दिने तरिकाले संसद्को गरिमा नबढ्ने भन्दै रचनात्मक ढंगबाट संसद्मा प्रस्तुत हुने उनले आग्रह गरे ।

माओवादीले हिंसालाई जनयुद्ध भनेपनि संसद्ले जनयुद्ध नभनेको उनले बताए । माओवादीको जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रूपमा चिनेको बताउँदै त्यसभित्र हिंसा समावेश भएको उनले बताए ।

संसद्लाई अगाडी बढ्न नदिने, गतिरोध कायम गर्ने, शान्ति प्रक्रियालाई अगाडी बढ्न नदिने गरी माओवादी केन्द्र प्रस्तुत भइरहेको उनको आरोप छ । प्रमुख प्रतिपक्षले जिम्मेवार ढंगबाट संसद्मा प्रस्तुत हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *