संसद्‌मा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने तयारी छ

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आज बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

यद्यपि, संसद् सचिवालयले भने आजको संसद् बैठकको कार्यसूचीमा प्रधानमन्त्री ओलीको संबोधनबारे केही उल्लेख गरेको छैन । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ ।

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *