माओवादी सांसदको आरोप- वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भयो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाएका छन् ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनमा अपारदर्शी, षड्यन्त्रपूर्ण ढंगले सरकार बनेको बताए । उनले सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट सरकार कतै विचलित भएको र बाटो बिराएको बताए । उनले सरकारले चालु अधिवेशनमा आवश्यक बिजनेस दिन नसकेको पनि बताए ।
उनले भने ‘यो बीचमा अपारदर्शी, षड्यन्त्रपूर्ण ढंगले सरकार बन्यो । यही अधिवेशनकै बीचमा । जसरी बनेपनि त्यो सरकारको सफलताको शुभकामना प्रमुख प्रतिपक्ष दलको हिसाबले दियौँ । सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट यो सरकार कतै विचलित भएको र बाटो बिराएको देख्न सकिन्छ । सरकारले यो अधिवेशनमा अलि धेरै बिजनेस दिनसक्थ्यो, त्यो पनि त्यति सकेन ।’
सांसद शर्माले समितिमा सहमतिको सिस्टममा यस अधिवेशनको बीचमा सरकार पक्षबाट तोडिएको बताए ।