सन्दर्भ : बि.ए तेर्सो वर्षको परीक्षा

परीक्षामा विषयको प्रश्न पत्र नै नआएपछि…

हामी ऐच्छिक नेपाली पढ्ने ४ विद्यार्थी । बि.ए तेस्रो वर्ष सुरु भएदेखि पाठ्यक्रम सुनेर अलमलमा परेका थियौँ । यस वर्षको पाठ्यक्रम अघिल्लो वर्षहरूको भन्दा फरक रहेछ । आफूले पढ्दै आएको मेजर विषय बाहेक भिन्न दुई विषय पढ्नु पर्ने । त्यसैले मैले ऐच्छिक नेपाली र पत्रकारिता विषयका साथसाथै इलेक्टिभ इङ्लिस र डेभलपमेन्ट प्राक्टिस पनि पढ्न पर्ने भयो ।

मेरा लागि ति दुवै विषय चुनौतीपूर्ण थिए । त्यसो त म इङ्लिस विषयसँग त्यत्ति फ्रेन्डली थिइन, डेभलपमेन्ट प्राक्टिसको क्लास पनि बस्न पाइन् । किनभने कलेजमा इलेक्टिभ इङ्लिस र डेभलपमेन्ट प्राक्टिसको कक्षा एकै समयमा हुने भएकाले म इलेक्टिभ इङ्लिसको कक्षामा मात्र बस्दथे । डेभलपमेन्ट प्राक्टिस त होम स्टडी जस्तै भयो । अन्य विषयहरूको कक्षामा भने म नियमित नै  बस्दथे ।

त्यसका बाबजुद पनि पहिलो, दोस्रो र प्रि–बोर्ड सबै परीक्षाहरूमा मेरो राम्रो अंक आयो । अब म सबै विषयहरूसङ अभ्यस्त भइसेको थिए । एक प्रकारले पास हुने कुरामा ढुक्क थिए ।

अन्तिममा सबै कोर्सहरू पढाइसकिए । नभन्दै बोर्ड परीक्षाको रटिङ पनि आयो । रुटिङ्ग हेर्दा मेजर नेपालीको परीक्षा १३ गते रहेछ । त्यहाँ कोष्ठमा ‘पार्सल स्टुडेन्ट ओन्ली’ लेखिएको थियो ।

३० गते पनि मेजर नेपालीको परीक्षा रहेछ । जहाँ रेगुलर स्टुडेन्टको लागि भनेर स्पष्टसँग लेखिएको थियो । हामी दुबिधामा पर्यौँ । किनभने पार्सल स्टुडेन्ट ओन्ली लेखिएको लिस्टमा मेजर नेपाली बाहेक अन्य धेरै विषयहरू पनि सँगै थिए । तर उनीहरूको परीक्षा भने त्यसैदिन रहेछ ।

कलेजले पनि टि.यु (त्रिभुवन विश्वविद्यालय) मा गएर त्यस विषयमा बुझ्यो । त्यसपछि हाम्रो परीक्षा ३० गते नै हो भन्ने निष्कर्षमा हामी पुग्यौँ ।

परीक्षाको दिन म आधा घण्टाजस्तो चाँडो पुगे । ढोकामा टाँसिएको सिट लिस्ट हेरेर परीक्षा हल कन्फर्म गरे । एउटा सानो कक्षाकोठा हाम्रो परीक्षा हल रहेछ । जहाँ धेरै परीक्षार्थीहरू आफ्नो वर्षभरिको मेहनत दर्साउन आएका थिए । त्यसैमध्येको एक थिए म ।

परीक्षा दिँदै जाँदा केही गर्मी महसुस भयो । मैले मेरो सिधा भित्तामा रहेको पङ्खा चलाउन खोजे । तर चलेँ । त्यसपछि जबरजस्ती पनि गरिन । सोचे ‘बि.ए तेस्रो वर्षको परीक्षा दिन गएको एक विद्यार्थी पङ्खा चलाउन खोज्दा करेन्ट लागेर मृत्यु’ ओहो, यस्तो भयो भने । मनमा डर उत्पन्न भयो । त्यसपछि पङ्खा चलाउन छाडेर खुरुखुरु लेख्न थाले ।

दुई ओटा विषयका परीक्षा सक्किसकेका थिए । मेजर नेपालीको परीक्षा नजिकिँदै गर्दा मनमा ढुकढुक बढ्दै गयो । ‘यदि रेगुलर मेजर नेपालीकै परीक्षा रहेछ भने ।’ एकपटक परीक्षा हल नपुगी मनले मान्दै मानेन । उता बिदा लिने बारे अफिसमा पनि केही भनेकी थिइन् । त्यसैले त्यसदिन म चाँडै घरबाट निस्के । परीक्षा केन्द्रमा पुगे । ढोकामा टाँसिएको सिट लिस्ट चेक गरे । मेरो सिम्बोल नम्बर कतै देखिन् । त्यसपछि सन्तोषको सास फेर्दै अफिस तिर दौडे ।

त्यसपछिका परीक्षाहरू पनि निकै दुबिधाजनक भयो । परीक्षा रुटिङमा इलेक्टिभ l र ll विषय कुनकुन हुन् भनेर छुट्टाइएको थिएनन् । जुन दिएपनि हुन्छ अरे । सुन्दा त अचम्म लागेर आयो । कहिल्यै नसुनेको कुरो पो सुनियो त । साथीहरू जिस्कदै छन कि जस्तो लाग्यो । होइन रहेछ, बरु टि यु ले पो जिस्केको रहेछ हामीसँग । इलेक्टिभ l मा हामी सबैले इङ्लिसको परीक्षा दियौँ । त्यसो त त्यसदिन डेभलपमेन्ट प्राक्टिसको परीक्षा दिनेहरू पनि देखिन्थे । हामीले चैँ त्यसको भोलिपल्ट डेभलपमेन्ट प्राक्टिसको परीक्षा दियौँ । त्यस्तो पनि हुँदो रहेछ नेपालमा।

डेभलपमेन्ट प्राक्टिसको परीक्षा सकिएपछि साथीहरू हलुङ्गो देखिन्थे । किनभने उनीहरूको परीक्षा सकिएको थियो । आफूलाई भने मेजर नेपालीको परीक्षाले हलुङ्गो हुन दिएको थिएन ।

अन्ततः डेभलपमेन्ट प्राक्टिसको परीक्षा सकिएको ठिक १२ दिनपछि मेजर नेपालीको परीक्षा आयो । म बेलुकी देखि नै परीक्षाको तयारीमा लागे । भोलीपल्ट राम्रैसँग परीक्षा हल पुगियो । आफ्नो नामको सिम्बोल नम्बर हेरे । साथीहरू अघि नै हलमा छिरिसकेका रहेछन् । सबै जनाको हातमा प्रश्न पत्र देखे । मेरा कलेजका साथीहरू भने रुन्चे अनुहार बनाएर अवाक भएर बसेका रहेछन् । म हलमा छिर्ने बित्तिकै साथी रिताले भनी ‘ओइ, हाम्रो त प्रश्न पत्र नै छैन रहेछ’

त्यसैबिच परीक्षा हलमा बस्नु भएका खस जस्ता देखिने सरले हामीलाई सोध्नुभयो ‘कुन विषय अरे, तिमेर को ?’

‘आधुनिक नेपाली कथाको उत्तरवर्ती चरण’ हामी सबैले एकै स्वासमा उत्तर दियौँ ।

सरले हातमा रहेको प्रश्न पत्रको मुठो पल्टाउँदै भन्नुभयो ‘यहाँ त सोध पत्रको मात्र प्रश्न छ ।’

बाहिरबाट अर्को शिक्षक बोल्दै भित्र पस्नुभयो ‘ए, तिमेरको त्यो विषय त क्यानसेल भइसक्यो अरे, त्यसको सट्टा यो नयाँ कोर्स आएको हो अरे’

त्यसबेला मलाई त्यो पहिलो दिन लाग्न नसकेको करेन्टको झट्का यसपटक बेस्सरी लाग्यो । नराम्ररी लाग्यो । दिउसै रात परेजस्तो, दुनिया पल्टे जस्तो लाग्यो । सायद मेरा साथीहरूलाई पनि मलाई जस्तै भएको हुदोहो । त्यो कुरा भनिराख्न जरुरी थिएन । उनीहरूको अनुहारमा प्रस्टै देख्न सकिन्थ्यो ।

त्यसदिन हामीसंगै अन्य कलेजका विद्यार्थीहरू पनि हामीजस्तै अलपत्र परेका थिए ।

तर मेरो मनमा एउटा झिनो आस भने अझै मरेको थिएन । उही आसले भरिएको मुद्राले मैले अघिको मुद्राले सरलाई अनुरोध गरे ‘एकचोटि टि यु मा फोन गरेर बुझिदिनुन सर’।

केहिसमय पछि फोन राख्दै उहाँले भन्नुभयो ‘तिमेरुको कोर्स चेन्ज भएको हो अरे, आज शोध पत्रको मात्र परीक्षा हो अरे, यो परीक्षा नदिए घर पठाइ दिनु भनेको छ ।’

त्यसपछि हाम्रो बचेकुचेको आस मर्यो ।

अब हामीसँग दुईओटा बाटोहरू मात्र थिए । पहिलो त जस्तो हुन्छ परीक्षा दिने, अर्को त चुपचाप घर फर्कने ।

यदि कोही मानिस पोखरीमा डुब्यो भने उसले हातखुट्टा नचलाई बस्छ र ?, उसले अन्तिम साससम्म पनि बाच्ने कोसिस गर्छ नि होइन र ?, हामीले पनि परीक्षामा उत्तीर्ण हुने अन्तिम प्रयास स्वरूप तत्कालै परीक्षा दिने निर्णय गर्यौँ ।

तर समस्या त प्रश्न पत्रको थियो । प्रश्न पत्रमा हामीले पढेको कुरो केही आएको थिएन । प्रश्न पत्र हेरिसकेपछि साथीहरू परीक्षा दिने कि नदिने भन्नेमा दोधारमा परे । मैले भने जसरी भएपनि पास हुन्छु भन्ने मन बनाए ।

हामी चारजना विद्यार्थी मध्ये ३ जना दैनिक कलेज गएर अध्ययन गर्ने नियमित विद्यार्थी थियौँ । मैले  बि.ए पहिलो वर्ष र दोस्रो वर्षमा ७० प्रतिशत भन्दा बढी अंक ल्याएकी थिए । तेस्रो वर्षका लागि पनि हाम्रो मेहनत उत्तिकै थियो । तर हामीलाई यस अवस्था सम्म ल्याइपुर्याउने को ?, नेपालका शिक्षा प्रणाली यति कमजोर किन ?, बोर्ड परीक्षाको एक महिना अगाडि आएर कोर्स परिवर्तन गर्ने ?, सम्बन्धित निकायको लापरबाहीले गर्दा हामी विद्यार्थीको शैक्षिक जीवनलाई एउटा मजाक बनाइयो । यस्तो वातावरणमा हामीले कसरी पढ्ने ?, कि नपढ्ने ? हामीले हाम्रा भाइ बहिनीहरूलाई के सन्देश दिने ?, के हामीले पनि अन्य युवाहरूले जस्तै बिदेसिनु पर्ने हो ?, के हामीले नेपालमा पढेर गल्ती गरेका हौ त ?, यस विषयमा म सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

(लेखक भरखरै बि.ए तेस्रो वर्षको परीक्षा दिएका हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *