सपनाको सागरमा तैरिएको यात्रा

समय संगै गाँसिएको मेरो यात्रा हिँड्दा हिड्दै यहाँ सम्म पुगेको पनि पतै भएन । जोडिनेहरू मोडिँदै गए, बाँच्या बन्धन तोडिँदै गए तर कुनै फरक परेन कसैलाई । सायद यसैको नाम नै होला जिन्दगी । कति निर्दयी हुन्छ है, कहिले काहीँ यो जिन्दगी पनि अनि उराठिलो लाग्दो रहेछ । तर पनि मुसुक्क मुस्कुराउनु पर्ने कस्तो यो जीवन यात्रा ।

अनेक बाचा बन्धनका साथ हिँडेको यो जीवनमा एक विवश र बाध्यताले बाँधिएको जीवनको वृत्तान्त सुन्दा कस्तो लाग्छ होला है ?, सायद कल्पना गर्न पनि गाह्रो होला तर यस्तै विवशताको कथा लेख्न मेरो औलाहरू आतुर रहे । मेरो मनले मलाई झकझक्याई रह्यो, कथा कसैको जीवन सँग मेल खाए संयोग मात्र ठानी दिनुहोला, यो सिर्फ कल्पनाले सिँगारिएको गाथा मात्र हो, यसलाई आफै भित्र वाचन गरि दिनुहुनका लागि यहाँहरूमा अनुरोध गर्दछु ।

समय बित्दै थियो, सामाजिक संजालमा रमाउने म कहिले गीत/सङ्गीत, कहिले कथा/व्यथाले उनिएको काल्पनिक कथा, कहिले कविता लेख्न नआउँदा नआउँदै पनि कविता जस्तै सँगालो, यस्तै यस्तै दिनचर्या मान्छे न हो भावना त बग्दो रहेछ । कहिले कसैसंग माया प्रेममा रमाउन अनि कहिले कसैको पिडामा मलहम लाउन दिन बित्दै गए । आँधी हुरीले उजाड बनेको जीवनमा खोइ कस्तो अनौठो व्यथा बल्झियो पत्तै भएन ।

एक दिनको कुरा हो, म सामाजिक संजालमै थिए । अनेकन् साथीहरूले साथी बन्नका लागि पठाएका अनुरोधलाई मैले हेर्न पनि समय पाएको थिएन र मेरो बानी पनि आजकाल नचिनेको व्यक्तिलाई साथी बनाइ हाल्ने पनि छैन । ता पनि एउटा अनुरोधलाई नकार्न सकिन ।

साथीको अनुरोध स्वीकार गरे तर मनमा भने अलिक नरमाइलो लागि नै रह्यो । किनकि आजभोली सामाजिक संजालमा बढी दुरप्रयोग भएको देखिएका कारण मेरो मन चस्कनु पनि स्वाभाविक नै थियो । मनले मानेन, एक दिन मलाई कौतुहलता जाग्यो । मैले एउटा सन्देश कोरे ‘को हो तिमी ?, मलाई चिन्छौ ?’

प्रति उत्तरमा सन्देश आयो ‘चिन्छु नि’

तर मलाई लाग्यो जसलाई म चिन्दिन उसले मलाई कसरी चिन्छ ?, मेरो मन भित्र अनेकौँ प्रश्नहरू खेल्दै गए । म उसलाई चिन्ने निकै प्रयत्न गरे तर सकिन । यहाँ सम्म कि मेलै धेरै सन्देशहरू पठाए अनेक पटक अनुरोध गरे, चिन्ने प्रयत्नको लागि तर मेरो केही चलेन । म विवश भएर त्यो साथीको प्रस्ताव लाई विट मार्ने पक्षमा पुगेको थिए तर एक दिन मलाई यस्तो कथा आयो मैले उक्त कथा लाई पढ्दा पढ्दै मेरा आँखा भरि आँसुले भिजेको मैले पत्तै पाइन ।

मलाई मेरो जिन्दगी देखि गुनासै गुनासो रहेको आभास भई रहन्थ्यो । तर आज अरूको खुसीको लागि भए पनि आफ्नो दुख लुकाउने बानी परेछ । जिन्दगी सोचे जस्तो कहाँ हुँदो रहेछर हजुर, मैले भोगेको जिन्दगी र हजुरको यथार्थबाट अलि टाढा रहेको जिन्दगीलाई यति चाडै हरेस खाएर मोड्नु कायरता हो भन्ने लाग्दैन । कहिले नारी भएर नारीको पिडा महसुस गर्नु भएको छ  हजुरले ?, एक अबला नारीलाई कुन नजरले हेर्दा रहेछन् यो समाजले , कल्पना गर्नु भएको छ ?, हो म ओझलछु यो समाजदेखि किन थाहा छ ?, मैले निःसन्देह चिनेको जस्तो गरि उसको भावना खोतल्न सन्देशहरू पठाई राखे किनकि म उ संग नजिक भएर उसका व्यथामा साथ दिन चाहन्थे तर म उसँग अपरिचित नै थिए ।

उसका कुरा मलाई कथा बुनेर मन जित्न खोजिरहेको जस्तो लागि रहेको थियो, कतै कथामा सत्यता छ जस्तो पनि लाग्दैन थियो । मैले उनको कथालाई कथा भित्र मात्र समेट्न खोज्दै थिए ।

एक दिन।

‘लाग्दैन होइन, हजुरलाई मैले गरेको ती सन्देश भित्र लुकेको मेरा बेदन साँचो हो भन्ने के नजिक भएर मात्र गरेको कुराको मात्र विश्वास गरिन्छ र हजुर ?‘, मलाई जिज्ञासा अझै बढ्दै गयो । म कसरी करिब हुने सोच्दै गए अनि प्रति उत्तरमा जवाफ फर्काए  ‘किन मेरो रुमलिएको जिन्दगीलाई अझै धमिल्याउने प्रयत्न गर्छौ ?, म त जिन्दगी देखि हारेको मान्छे, एक हारेको मान्छेले अरूलाई के साथ दिन सक्छ र ?

प्रति उत्तर ‘अगाडी बढ्न कसैको जिन्दगी भरिको साथ नै चाहिन्छ भन्ने होइन । कोहीसँग वेदनाका पोका खोल्न पाउँदा पनि अलिक हलुङ्गो महसुस हुँदो मात्र रहेछ हजुर, हजुर जान्न नै चाहनु हुन्छ भने…

म एक सम्भ्रान्त परिवार कि छोरी मान्छे । म कसैलाई अति नै माया गर्थे तर परिवारको हटका अगाडी मेरो केही चलेन हजुर । म बाध्य भए, न कहिले देखेको न कहिले कुरा गरेको, मेरो परिवारले देखेको र रोजेको केटालाई रोज्न विवश भए । एक चिम्टी सिन्दूरले रङ्गाएको मेरो सिउँदोबाट पती मान्न, सबै कि प्यारी छोरी, बहिनी, म । मेरा लागि घर गर्नु ठुलो कुरा थिएन तर मैले भोगेका घटना अब कसैले भोग्न नपरोस्  । कसले चाहन्न र आफनो पतिको माया । विवाह गरि अन्माएका ती मेरा बाबा आमालाई के थाहा ?, छोरीलाई महलमा पठाइयो कि कुनै झुपडी भित्र।

दिनहरू बित्दै गए, कसैको माया पाउनुको साटो दासी भनौँ या त्यो घरको नोकर त्यहाँ मेरो कुनै अस्तित्व रहेन । विवाह कै रातबाटै मेरा मानस पटलमा ‘दाइजो कम भयो, तेरा बाबा आमा ले हामी र हाम्रो छोरालाई फसाई’ भन्दै गरेको ती रुखा व्यवहारले विक्षिप्त मेरो मन , न कतै निस्कनु छ, न कसै सँग बोल्न । सायद घरमा पालिएका जनावरले त माया पाउँदा हुन तर म मान्छे भएर पनि यति हेलित किन ?

एक मनले भन्छ, ‘सबै कुरा मेरा माइतीलाई भनौँ’, अनि एक मनले भन्छ ‘छोरीको जन्म हारेको कर्म, आखिर भावीमा भएको कुरा कसले मेट्न सक्छ र।’ कहानीहरू बिस्तारै फराकिला बन्दै गए मैले सन्देशहरू हेर्नुको अलावा के पो गर्न सक्थे र ? दिनहरू बित्दै गए, सन्देशहरू पातलिँदै गए, लामो समय भयो कुनै अत्तोपत्तो पाउन सकिन् । सारा सञ्जाल भित्र खोज गर्ने प्रयत्न गरे कुनै थाहा गर्न सकिन । अनि मनमा लाग्यो ‘यो त कल्पनामा लेखिएका कथा पो रहेछन् ।’

लामो समय पश्चात् सन्देश आयो ‘म हार खाए हजुर, मैले देखेका सपना सबै अधुरै भए, मलाई लागेन मेरा लागि पनि यो संसार छ, म बाध्य भएर यो कदम उठाउँदै छु, मलाई कायर नसम्झी दिनु होला । म हजुर माझ आउन सकिन तर आज म जिन्दगीको अन्तिम निर्णयमा पुगेर अन्तिम सन्देश केर्दै छु । अल बिदा हजुर एक अभागी…।’

आज आएर बुज्दैछु यो समाजलाई । अनि त्यस्ता परिवारलाई जो आफनो दम्भ र खुसीका लागि आफूले जन्माएका आफनो परिवारको चाहना बुझ्दैन । अनि घटना घटी सक्छ त्यस पछि उ पछुताउँछ । यस्तो समाज र यस्ता परिवार के काम ?, जहाँ मान्छेले स्वतन्त्रताको नाममा अझै आफ्ना चाहनाहरू बाँधेर बाच्नु परेको छ ।

(यो एउटा सन्देशमूलक कथा पनि बनोस्, सबैका लागि जो अगाडी नसोचेर पछाडि पश्चात्तापको भुमरीमा रुमलिन्छन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *