कृषि क्षेत्रका समस्या छिटै समाधान गर्छौं : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए ।

उनले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताए । उनले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गरे । उनले देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने बताए ।

उनले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको बताए । उनले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

उनले भने– ‘कृषिमा धेरै किसिमका समस्याहरु छन् । तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुबीच भेटघाट छैन । कृषिका कर्मचारीहरु कस्ता छन् ग्रामिण क्षेत्रका किसानहरुले देखेका पनि छैनन् । देशभरका किसानहरुको लागि कृषि मन्त्रालय हो तर सरकार सच्चा किसानहरुको बीचमा पुगेर सल्लाह दिनसकेका छैनौं । मुलुकमा तीन प्रकारका किसानहरु रहेका छन् । जीविकोपार्जनको लागि अर्को विहान बेलुका दुई छाक टार्ने र अर्को खालका ठूलो परिणाममा काम गरेर व्यवसायीक किसानहरु छन् । तर किसानको लागि सबैठाँउबाट सहयोग गरौं । किसान र मन्त्रालयबीचको दुरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको छ । हामीले उत्पादनमा जोड दिएनौं र समयमा मल बिउको व्यवस्थापन गर्न सकेनौं भने आयात मात्रै गर्नुपर्ने हुन्छ । त्यसको लागि कृषि मन्त्रालय सहयोग गर्न तयार छ ।’

उनले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *