सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धूमधामसँग मनाइँदै छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिन्छ ।

भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । द्वापर युगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ ।

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पूतनालाई भगवान् श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रुपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो ।

सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाले बूढीकोप्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् ।

भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज पोलेमा सुखशान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय प्रेम सिंह धामीले बताए । बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रहिआएको छ ।

ओल्के सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरूपमा तयार गरी सिङारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पूतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने चलन रहिआएको छ । नयाँ पुस्ताको ध्यान नपुग्दा बूढी पोल्ने पर्व पछिल्लो समय लोप हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *