यस्तो देखियो इन्द्रजात्रा (तस्बिरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि इन्द्रजात्राको अवलोकन गरेका छन् । आज दिउँसो उहाँले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन् ।

उनको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य, काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गइ जात्रा अवलोकन गरेका थिए ।

साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *