नयाँ पुस्ताका बालबालिकाहरू लद्दु छैनन्, असक्षम छैनन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताए । उनले शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

उनले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गरे । उनले नयाँ पुस्ताका बालबालिकाहरू असक्षम नरहेको भन्दै उनीहरुले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिए । शिक्षा दिने तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताए ।

उनले भने ‘सबै शिक्षा क्षेत्रमा लिड गरिरहेका, काम गरिरहेका साथीहरूलाई म भन्न चाहन्छु, हाम्रो नयाँ पुस्ताका बालबालिकाहरू लद्दु छैनन्, असक्षम छैनन् । पढ्न नसक्ने, नजान्ने छैनन्, अन्तै केही कमजोरी छ, जो खोज्नुपर्छ । विद्यार्थी फेल भएका होइनन्, विद्यार्थी फेल बनाइयो, फेल भए । किन फेल भए  ? विद्यार्थीको कारणले फेल भएनन् । तिनीहरूको जे विषयमा ट्यालेन्सी छ, त्यो चिनिएन । एउटा रुची भएकालाई अर्कै शिक्षा दिइयो । शिक्षा दिने तरिका भएन । जसले गर्दा उसले सिक्न सकेन । शिक्षालाई एकदम जगैदेखि, बालबालिकाको तहदेखि मजबुत आधारको रुपमा बालबालिकालाई शिक्षा दिनुपर्छ । अहिलेको विद्यमान शिक्षाको पछौटेपनलाई हटाउन सरकारको तर्फबाट म भन्न चाहन्छु, सरकार लागि परेको छ । आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा अब खासगरी शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँछु ।’

प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने बताए । उनले शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *