विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएका छन् ।

आइतबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षकलाई मासिक रुपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताए । उनले हाल देशमा आधारभूत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिए ।

उनले मुलुकभर सञ्चालनमा रहेका यी संस्थाहरूलाई व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको बताए । उनले सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको बताए । सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेको बताए ।

मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारूप तयार गरी सुरु गर्ने योजना बनाएको बताए । उनले माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताए ।

उनले भने ‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ । यसैगरी शिक्षकलाई मासिक रुपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौँ । हाल देशमा आधारभूत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेका छन् । मुलुकभर सञ्चालनमा रहेका यी संस्थाहरूलाई हामीले व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको छ । सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको अवस्था हामीसँग छ । सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेका छन् ।’

मन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिए । शिक्षालाई मानव पुँजी निर्माण गर्ने मात्रै नभई सामाजिक विकासको आयामका रुपमा बुझ्नुपर्ने बताए । उनले शिक्षामा सुधार गरी अघि बढ्नु आजको अपरिहार्यता भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *