सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ : यातायातमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन् ।

बुधवार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताए । उनले इन्धनको मूल्य घट÷बढ भए अनुसारको अटोमेटिक समायोजन गर्ने बारेमा पनि छलफल भइरहेको बताए । उनले सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।

उनले सवारी चालक अनुमतिबारे ड्यु रहेका करिब २१ लाख लाइसेन्स संघ सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताए । उनले लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम सुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताए ।

उनले भने ‘भाडा समायोजनको सम्बन्धमा मुख्यकुरा हो । यसमा हामी छिटै निर्णय गर्नेछौँ । अहिले अब ठ्याक्कै एक हातमा लिने र अर्को हातमा दिने काम नगरौँ । तर यसमा हामी गम्भीर छौँ । यसमा अटोमेटिक समायोजनको कुरा छ । इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्ने भन्ने पनि छ । समायोजन नभएको दुई, तीन वर्ष भइसक्यो । यो एउटा प्याकेजमै समायोजन गर्नुपर्छ । अब तुरुन्तै अग्रिम टिकट खोलेर यातायातलाई सहज बनाइदिनुस् । सवारी चालक अनुमति पत्रको बारेमा धेरै टाउको दुखाई गरिसकेका छौँ । केके गर्ने भनेर हामीले रोडम्याप नै बनाइसकेका छौँ । २०७२ सालदेखि नै प्रदेशले नै यो काम गर्नु पर्दथ्यो । तर यो काम संघले गरिरहेको अवस्थामा यो संघकै जिम्मेवारी भन्ने बुझाइ रह्यो । हामीसँग केही ड्यु छन् । त्यो ड्यु भएको हामीले पूरा गर्ने भनेको छौँ । २०÷२१ लाख जति हामीले अहिले छापेर दिनुपर्ने अवस्था छ । त्यो जसरी पनि हामीले छापेर दिन्छौँ । कोशी प्रदेशले अस्थायी कार्ड पनि दिन सुरु गरेको छ । क्युआर कोर्ड हुन्छ । त्यसमा । रसिद क्युआर कोड सहितको दिऔँ भन्ने पनि छ ।’

भौतिकमन्त्री दाहालले बढी भन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *