१२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने

काठमाडौँ । आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारीबाहेक) हुँदै आएको छ ।

बुधवार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/रुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको विश्वास लिएको छ । यस प्रतियोगितामार्फत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँच लगायत अपेक्षा गरिएको छ ।

उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ ।

एक सेकेन्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेन्डदेखि तीन सेकेन्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेन्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् ।

वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरस्कारबाट सम्मानित गरिनेछ ।

नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमशः नगदसहित सम्मान गर्ने सुरुवात गरिने भएको छ । यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वर्ल्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए । संघका अध्यक्षले पदाधिकारीबीच भएको आन्तरिक समस्याले खेलाडीको प्रतियोगितामा कुनैपनि समस्या नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *