दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

काठमाडौँ । दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ ।

चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौँबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो ।

आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भईरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *