ओमानसँग १ विकेटले हार्‍यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । गुल्सन झाबाहेक अन्य खेलाडीले मध्यमस्तरको समेत प्रदर्शन गर्न नसक्दा नेपाल ओमानसँग १ विकेटले पराजित भयो ।

नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा घरेलु टोलीसँग पनि हार बेहोरेको थियो । बिहीबार नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो ।

ओमानले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेको थियो । ओपनिङ ब्याटर जतिन्दर सिंहले १७औं ओभरमा सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि ४९ बलमा ४१ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कश्यप प्रजापति तीन ओभरपछि ३६ रनमा आउट भए। उनलाई आरिफ शेखले आसिफ शेखबाट क्याच गराए ।

त्यसपछि नेपालका लागि गुल्सन झाले राम्रो बलिङ गरे। उनले कप्तान अकिब इल्यासलाई २९ रन, आयान खानलाई ९ रन, शोहिब खानलाई २६ रन, फयज बटलाई ८ रन र जय ओडेड्रालाई ५ रनमा आउट गरे ।

‍झाले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ४७ रन दिए। करण केसीले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट आफ्नो नाममा लेखाए ।

क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ वेस्ट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२० रन जोड्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे । उनले ७२ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे । यस्तै गुल्सन झाले ३५ बलमा ५३ रनको योगदान दिए । उनले ३ चौका र ५ छ्क्का हिर्काए ।

सोमपाल कामीले ८ बलमा २ छक्का प्रहार गर्दै जोडेको २० रनले नेपालले २ सय रन कटाउन सफल भयो ।

यद्यपी नेपालले खेलमा सुरुवात भने राम्रो गर्न सकेन । कुशल भुर्तेलको स्थानमा ओपनिङको मौका पाएका अर्जुन साउदले ५ रन मात्र जोड्न सकेन । अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए। भीम सार्कीले पनि ११ रन मात्र जोड्न सके ।

दोस्रो खेलमा मौका पाएका आरिफ शेखले ८८ बल खेल्दा ३५ रन बनाउन सकेन । उनले १ चौका प्रहार गरे । सातौं नम्बरमा ब्याटिङको मौका पाएका अनिलकुमार साह पनि चल्न सकेनन् । उनी ९ बलमा ३ रन जोडेर आउट भए । सन्दीप लामिछाने ११ रन र करण केसी १ रनमा पेभिलियन फर्के ।

बलिङमा ओमानका कलीमुल्लाह, फयज बट र अकिब इल्यासले २-२ विकेट लिए ।

सिरिजमा अब नेपालले तेस्रो खेलमा आइतबार राति घरेलु टोली क्यानडासँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *