फिल्म समीक्षा

खुस्मा : प्रेमकथासँगै सशस्त्र-माओवादी द्वन्द्वकालमा यात्रा गराउने फिल्म

संविधान दिवसको अवसरमा बिहीबारदेखि चलचित्र ‘खुस्मा’ नेपालभरका हलहरूमा प्रदर्शनमा आइसकेको छ । यो फिल्म, अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको हो । उपासना सिंह ठकुरी र धिरज मगरले यस चलचित्रमा पहिलो पटक सहकार्य गरेका छन् । यसबिच नायिका उपासना सिंह ठकुरी र धिरज मगरको अफस्क्रीन प्रेम सम्बन्धको पनि चर्चा चलेको छ । तर उनीहरूले दुवैले यस विषयमा कुनै खुलासा गरेका छैनन् । उनीहरूको यस कदमले भने चलचित्रको प्रचार-प्रसारमा फाइदा नै पुगेको देखिन्छ । सामाजिक सञ्जालहरूमा पनि दर्शकले यी जोडिलाई मन पराएका देखिन्छ ।

‘खुस्मा’ धिरज र उपासनाको मुख्य अभिनय रहेको फिल्म हो । जहाँ धिरजले पश्चिम रुकुमको एक लजालु मगर ठिटोको भुमिका निभाएका छन् भने उपासनाले पनि मगर समुदायको युवतिको प्रतिनिधित्व गरेकी छन् । चलचित्रमा उनीहरूलाई भेसभुसा पनि त्यस्तै किसिमको छ । तर चलचित्रले मगर समुदायको कथा भन्दा पनि वि.सं २०६२/६३ सालमा सरकार र माओवादी बीच भएको द्वन्द्वको कथालाई पर्दामा उतारको छ । आउनुस्, अझ विस्तृत रूपमा चर्चा गरौँ, चलचित्र ‘खुस्मा’ को बारेमा ।

‘खुस्मा’ सशस्त्र-माओवादी द्वन्द्वकालमा अकुंराएको प्रेमकथा हो । चलचित्रको सुरुमा पढाइको सिलसिलामा काठमाडौँ गएकी भनिएको नायिका खुस्मा (उपासना सिंह ठकुरी) गाउँ फर्किन्छे । त्यसपछि आफ्नो बाल्यकालको साथी गिमे (धिरज मगर) लाई भुट्न उ फुपूको घर पुग्दछे । उ गिमेलाई असाध्यै मन पराउँछ । गिले बाख्रा चराएको बेला मुरली बजाएको दृश्यलाई उ लुकिलुकी हेर्छ ।

गिमे खुस्माको फुपूको जेठा छोरा हुन् । उनी पोखरामा आइ ए सकेर केहीसमय अगाडि मात्र गाउँ फर्केका हुन् । उनी असाध्यै लजालु स्वभावका छन् । खुस्मा भन्दा पनि लजालु । त्यसैले उनले खुस्मासँग आफ्नो मनको कुरा खोल्न सकेका छैनन् ।

फिल्ममा उनीहरूलाई सानो हुँदा एकदमै मिल्ने जोडी भनेर धेरै पटक बयान गरिएको देख्न सकिन्छ ।

यस बाहेक फिल्ममा मने, आइते भेना, मास्टर काका जस्ता थुप्रै सहयोगी पात्रहरूको अभिनय देख्न सकिन्छ । जसले फिल्ममा मसलाको काम गरेका छन् । कुनै छुटाउनै नहुने खालका मसला त कुनै नहाले पनि हुने खालका मसला । तर जे जस्तो भएपनि ती मसालाहरूले फिल्मको स्वाद बढाउने काम गरेका छन् । ती मसलाहरू मध्य एक हुन्, मने । जसले फिल्मको कथावस्तुलाई अगाडि बनाउन महत्त्वपूर्ण भुमिका खेलेका छन् ।

फिल्ममा आउने टर्न एण्ड टुइस्टहरूमा मनेको महत्त्वपूर्ण भुमिका रहेको छ । फिल्ममा उनले साइड हिरोको रोल गरेका छन् । उनले खुस्मालाई सानैदेखि मन पराउने भएपनि गिमेलाई जिम्मा लगाएका छन् । गिमेले खुस्मालाई भगाउँदा पनि उनले नै सहयोग गरेको देखिन्छ । खुस्माले गिमेसँग विवाह गरेपछि एक्लिएका ‘मने’ त्यसपछि भने सशस्त्र-माओवादी द्वन्द्वमा सामेल हुन्छन् ।

उनी खुस्मा र गिमेको विवाह गरिदिने पात्र । त्यस्तै फिल्ममा उनीहरूको विवाह रोक्ने पात्रको रूपमा रहेका छन्, आइते भेना ।

खुस्मा गाउँ फर्केदेखि आइते भेनाको नजर खुस्मामाथि पर्छ । उनले ताला हान्ने मगर समुदायको परम्परा अनुसार खुस्माको रुमाल राखेको किल्लामा तिरले निसाना लाउँछन् । परम्परा अनुसार उनले खुस्मासँग विवाह गर्नुपर्ने हुन्छ । यसबिच उनीहरूबिच द्वन्द्व उत्पन्न हुन्छ । यसै द्वन्द्व बीच चलचित्र अघि बढेको छ । तर मुख्य द्वन्द्व त तब सुरु हुन्छ, जब खुस्मा र गिमेको विवाह भएपछि माओवादहरू गिमेलाई लिन मध्यरातमा उनको घर जान्छन् । त्यसबेला खुस्मा पनि गर्भवती भएकी हुन्छ ।

त्यसोभए के माओवादहरूले गिमेलाई लिएर जान्छन् होला त ?, अथवा कसरी गिमे माओवादीको नजरबाट बच्न सफल हुन्छन् ?, माओवादी र सरकारको आतंकबाट बच्न नसकेको गाउँमा गिमे र खुस्माको परिवार चाहिँ अछुतो रहला त ?, द्वन्द्वकालमा धेरै युवाहरू बेपत्ता पारिए । त्यसबीच गिमे पनि बेपत्ता हुने हुन् कि ?, यदि बेपत्ता भए भने के उनी फर्केर आउलान् ?, आए भने कसरी ?, यही नै उत्सुकताका साथ चलचित्र अगाडि बढेको छ ।

निर्देशकले चलचित्रमा वि.सं २०६२/६३ सालको सशस्त्र-माओवादी द्वन्द्वकालको समयलाई देखाउनका विशेष ध्यान दिएका छन् ।

गिमेले मध्य रातमा खुस्मालाई भेट्न गएको, खुस्माले उनको याद आउँदा चन्द्रमालाई हेर्नू भनेको कुराहरूले त्यसबेला मोबाइल र इन्टरनेटको उपलब्धता थिएन भन्ने देखाएको छ । त्यसतै चलचित्रमा लौकाको खोक्रोलाई बोतलको रूपमा प्रयोग गरिएको र सिलामको दानालाई टिका बनाई तीतेपातीलाई फूलको रूपमा टाउको सिउरिएको देख्न सकिन्छ । चलचित्रमा पात्रहरूको पहिरन, उनीहरूको जीवनशैलीले पनि दर्शकहरूलाई माओवादी द्वन्द्वकालको यात्रा गराउँछ ।

चलचित्रले सशस्त्र माओवादी द्वन्द्व कालमा जनताले कत्तिसम्म दुःख पाए भनेर देखाइएको छ । हामीले सुन्दै आएका घटनाहरू नै त्यहाँ आएका छन् । चलचित्रमा माओवादी द्वन्द्वका कारण धेरै जना अपाङ्ग भएका, शिक्षकलाई मारिएको, माओवादीहरू मध्यरातमा बास माग्न आएको, प्रहरीले थापा पाएर परिवारका सदस्यलाई कुटपिट गरेको दृश्यहरू चलचित्रमा देख्न सकिन्छ । तर यस विषयमा निर्देशक मगरले माओवादी र नेपाल सरकार पक्ष, कुनैको पनि वकालत गरेका छैनन् । उनी यसबाट हुनसक्ने कन्ट्रोभर्सीबाट टाढै बसेका देखिन्छ ।  त्यसैले चलचित्रमा पनि उनले ‘मास्टर काका’ को हत्या कसले, किन र कसरी गरे ? भनेर खुलाएका छैनन् ।

निर्देशक मगरले चलचित्रलाई वास्तविक देखाउन माओवादी द्वन्द्व कालको समयमा प्रसारण भएका समाचारको फुटेजहरू प्रयोग गरेका छन् । उनले हालसालै भएको माओवादीद्वन्द्व पीडितहरूको आन्दोलनलाई पनि चलचित्रमा विशेष स्थान दिएका छन् ।

यस चलचित्रमा गरिबी, निमुखाहरूको पक्षमा, देशको मुहार फेर्न भनिएको आन्दोलनले देशका धेरै युवाहरू बेपत्ता भएको कुरालाई देखाएको छ । कति अपाङ्ग र सहिद भए । यसबिच देशमा विभिन्न तन्त्रहरू पनि आए । तर हराएका गिमे र मने जस्ता युवाहरू भने फर्केर आएनन् ।

चलचित्रमा द्वन्द्व पीडित परिवारहरूको अवस्थालाई चित्रण गरेको छ । ‘कि लास देऊ, कि सास देऊ, नत्र भने मलाई एउटा गोली देऊ’ भन्दै उनीहरूको पक्षमा आवाज उठाएको छ ।

यति हुँदा हुँदै पनि चलचित्र उत्कृष्ट भने बन्न सकेको छैन ।

चलचित्रमा धिरज र उपासना लगायतका सबै पात्रहरूको अभिनय उत्कृष्ट रहेको छ । उत्कृष्ट चलचित्र कहलाउन अभिनय र कलाकारहरू मात्रै राम्रो भएर पुग्दैन । कथा, पटकथा र प्रस्तुतीकरण यसबाहेकका कुराहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । चलचित्र खुस्माको कुरा गर्नुपर्दा, खुस्मा लिनियर शैलीमा बेनेको चलचित्र हो तर चलचित्रमा भूतकालका कुराहरू आएका छन् । जसलाई मुखले मात्र वर्णन गरिँदा दर्शकहरूलाई बोर फिल गराउँछ । चलचित्रका सुस्त बन्दा पनि दर्शकहरू चलचित्र मन नपर्न सक्छ ।

यसका साथै फिल्ममा रुकुमको लोभलाग्दो दृश्यहरू खिचिएका छन् । तर अरु दृश्यहरूमा भने क्यामेराको प्रस्तुति कमजोर देखिन्छ । चलचित्र हेर्दा लो बजेटमा बनेको जस्तो देखिएको छ । दमदार कथावस्तु र अभिनय भएको यस फिल्ममा प्रस्तुतीकरण भने दमदार हुनसकेको छैन । यद्यपि यस चलचित्र अझै राम्रो बनाउन सकिन्थ्यो भन्ने भाव महसुस हुन्छ । त्यस्तै चलचित्रका संवाद र संगीतको उपस्थिति भने राम्रो छ ।

चलचित्रमा तिन ओटा गीतहरू रहेका छन् । जसमध्ये ‘रुकुम मैकोट’ र ‘मजुरको कल्की राम्रो’ गीतलाई दर्शकले निकै रुचाएका छन् । यस गीतहरूले पनि चलचित्रमा सुगन्ध थपिदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *