प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचितको मात्रै बनाऔँ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताएका छन् ।

बिहीवार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै सांसद खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित सदस्यहरुको मात्रै सभा बनाउनुपर्ने बताएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिस्पर्धा गराउन सकिने बताए । उनले समानुपातिक सदस्यहरुलाई राष्ट्रिय सभामा लानुपर्ने बताए । राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने उनले बताए ।

उनले भने,‘हामीले केही कुराहरुमा संविधान संशोधन गर्नुपर्ने जरुरी छ । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित गराऔँ केही बिग्रिँदैन । यहीँ समावेशी बनाऔँ । यहीँ सबै जातको प्रतिनिधित्व बनाऔँ । महिला उठ्ने ठाउँमा महिला मात्रै उठाइदिउँ, दलित उठ्ने ठाउँमा दलित मात्रै उठाइदिउँ । जनजाति उठेको ठाउँमा जनजातिको मात्रै प्रतिनिधित्व गराऔँ । असाध्यै राम्रो हुन्छ । संविधान संशोधन गर्ने बित्तिकै सबै अधिकारहरु गइगए, घटिहाले हामी त परै जानुपर्‍यो बल्ल बल्ल पुगिराथ्यौँ भन्ने पद्धतिको अन्त्य गरौँ । समानुपातिक पद्धति हामीले बिगारेकै छौँ । जनप्रिय छोडेर धनप्रिय खोज्छौँ । नाताका खोज्छौँ । नीतिका होइन नेताका खोज्छौँ । नाता छोड्यौ भने दाता खोज्छौँ । अनि कहाँबाट बन्छ राम्रो ? यो गल्ती भएको छ, यसलाई संशोधन गर्नुपर्छ । हाम्रो त्यही धारणा छ । यो अवस्था आइसकेको छ । हामीले परिपक्व रुपमा जानुपर्ने देखिन्छ, शासकिय स्वरुपको बारेमा । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित बनाऔँ । राष्ट्रिय सभा समानुपातिक बनाऔँ । बरु राष्ट्रिय सभाबाट पनि मन्त्री, प्रधानमन्त्री हुने व्यवस्था गरौँ । त्यसले केही बिग्रिदैन । तर मुलुकलाई स्थायित्वको बाटोमा लानुपर्ने बेला भएको छ ।’

उनले शासकीय स्वरुप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्ने समय आइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *