राज्य कमजोर हुँदा रमाउनेहरूबाट समृद्धि सम्भव छैन : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्याको समाधानका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्न तीन तहको सरकारबीचको सहकार्यबाट काम गरिरहेको स्पष्ट पारे । अहिले नेपालमा केही सम्भावना नभएको र आर्थिक समृद्धि हुन नसक्ने भन्ने नकारात्मक धारणा फैलिरहेको भन्दै उनले यसप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले राज्यप्रति निराशा बाँड्नुको सट्टा ‘सरकार मेरो हो’ भन्ने भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए । आर्थिक समृद्धिका लागि सरकार र राज्यको सफलताको अपरिहार्यता औंल्याउँदै उनले राज्यलाई कमजोर देख्नेहरूले विकास सम्भव नहुने धारणा राखे ।

उद्योग क्षेत्रका समस्याहरू समाधान गर्न सरकारको नीतिमा रहेका कमजोरीहरू सुधार्न छलफल र बहस गर्न सरकार सधैं तयार रहेको बताउँदै मन्त्री भण्डारीले निजी क्षेत्रका समस्या समाधानका लागि सहकार्य गर्ने सरकारको प्रतिबद्धता पुनः दोहोर्याए । उनकाअनुसार उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि वस्तुगत सेवा र छाता संस्थाहरूसँग छलफल गरी मन्त्रालयले सुधार कार्ययोजना तयार पारेको हो ।

  • उनले भनेका छन् :-

अहिले एउटा भाष्य के निर्माण भएको छ भने हामीसँग सम्भावना पनि छन् । सिमित छन् । सम्भावना हुँदाहुँदै पनि अन्तै सम्भावना देखिरहेका छौँ । र एउटा ट्रेण्ड नै के भएको छ भने नेपालमा खासगरी युवा जमातमा एउटा निराशा व्याप्त रहने, त्यो निराशा प्रोत्साहित गर्न अनेक खालका लाञ्छना लगाउने, सरकार र राज्यप्रति निराशा पैदा गर्ने, सरकार केही होइन, केही गरेन, सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर आज एउटा निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता सिर्जना गर्ने गतिविधि भइरहेको छ । आखिर सरकार कसको हो ? राज्य कसको ? जब राज्य कमजोर हुन्छ, जब सरकार कमजोर हुन्छ, सरकार मेरो हो, राज्य मेरो हो, भन्ने भाव आउँदैन तबसम्म देश बन्दैन । आर्थिक समृद्धिका लागि पहिला राज्य सफल हुनुपर्दछ । सरकार सफल हुनुपर्दछ । यदी राज्यलाई कमजोर देख्ने, सरकारलाई कमजोर देख्ने, सरकार फलानाको, एमालेको, काँग्रेसको, माओवादीको भनेर हामीले भन्ने तर सरकार मेरो हो, सरकार नेपालको हो । नेपालको सरकार, राज्य जबसम्म बलियो हुँदैन, तबसम्म कुनै क्षेत्र बलियो हुँदैन भन्नेकुरा बुझ्न जरुरी म ठान्दछु । उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि हामी सरकारको नीतिमा समस्या छन् भने, सरकारको नीतिमा प्रश्न छन् भने आउनुस् छलफल, बहस गरौँ । सरकारका नीतिमा होलान् कमजोरी, त्यो सच्याउन हामी तयार छौँ । कहाँनेर निजी क्षेत्र निरुत्साहित भएको हो, त्यसमा बहस गरौँ । हामी सहकार्य गर्न तयार छौँ । अहिलेको जस्तो बलियो, दृढ सरकार कहिले पाउनु हुन्छ । नीतिमा सुधार गर्नुपर्छ भने पनि कहीँ समस्या छैन, सरकार तयार छ । आज सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुने अनि हामी रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुँदैन । आजको राज्यको संयन्त्र, तीन तहको सरकार बीचको सहकार्यबाट हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छौँ । निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *