सङ्घर्षको कथा

अमिलो चटपटे बेचेर गुलियो भविष्य बनाइरहेकी प्रेमिका

काठमाडौँ । सिन्धुलीकी प्रेमिका श्रेष्ठ काठमाडौँ आएको ४ वर्ष भयो । कक्षा १२ सकेर काठमाडौँ आएकी प्रेमिका प्रदर्शनी मार्ग स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत छन् ।

हेर्दै शालीन र सरल स्वभावकी देखिने प्रेमिका सबैको प्रिय छिन् । पढाइमा पनि अब्बल प्रेमिका आफ्नो जिम्मेवारमा पनि पोख्त छिन् । उनले पडाइसँगै आफ्नो व्यवसायलाई पनि अगाडी बढाइरहेकी छन् ।

देशमा बढ्दै गइरहेको शैक्षिक बेरोजगारीलाई चुनौती दिँदै २४ वर्षीया प्रेमिकाले काठमाडौँको भृकुटी मण्डपमा चटपटे र पानी पुरी पसल गरिरहेकी छन् । रोजगार नपाएर बिचमै पढाइ छाड्ने विद्यार्थीका अगाडि प्रेमिकाले पढाई र कमाइलाई सँगै बढाइरहेकी छन् ।

सिन्धुलीको सामान्य परिवारमा जन्मिएकी प्रेमिका पढाइसँगै आफ्नो इलम गर्छिन् । उनी आफूलाई पढाई खर्च, काठमाडौँमा बस्न रुम भाडा लगायत आफ्नो खर्च आफै जुटाउँछिन् ।

देशमा रोजगारी नपाएर पढाइ छोड्दै विदेश जानेहरूका लागि उदाहरणीय बनेकी छन् प्रेमिका । उसो त, अहिले क्याम्पस र क्लासमा भन्दा धेरै विद्यार्थी काठमाडौँका कन्सल्टेन्सीमा भेटिन्छन् । कम मात्रामा भेटिन्छन् पढ्दै व्यवसाय गर्ने युवाहरू । त्यसै मध्य एक हुन् प्रेमिका श्रेष्ठ पनि । प्रेमिकालाई विदेश जाने रहर छैन । उनलाई देशमै इलम र दुःख गरेर भविष्य बनाउने धोको छ ।

बिहान कलेज, दिउँसो इलम
परिश्रमी प्रेमिका बिहान कलेज र दिउँसो आफ्नो व्यवसायमा व्यस्त रहन्छिन् । आरआर क्याम्पसमा राजनीति शास्त्र अध्ययन गरिरहेकी प्रेमीका पढाइ सकेर इलम गर्न भृकुटीमण्डप जान्छिन् । भुजा, चना, मटर, भटमास, मसला, नुन, खोर्सानी, टमाटर, कागतीलगायतका सामग्रीलाई नै मिसाएर चटपटे बनाएर चटक्क मुख मिठ्याउने चटपटे बनाउनु उनको दैनिकी हो ।

पढाइमा अब्बल प्रेमीकालाई देशमै बसेर भविष्य बनाउने सपना छ । प्रेमीकाको सानै देखिको सपना शिक्षक बन्ने थियो । काठमाडौँमा शिक्षक सेवा र लोकसेवा पढ्ने भनेर आएकी थिइन् प्रेमीका ।

उनले आर्थिक अवस्था कमजोर भएपछि क्याम्पसका कक्षा बाहेकको पढाइलाई निरन्तरता दिन सकिनन् । तर, प्रेमीकाले जसरी पनि सरकारी जागिर खाने र देशमै बस्ने धोको छ । उनले त्यो पुरा गर्ने अठोट पनि लिएकी छन् ।

‘बिहान कलेज जान्छु, दिउसो यहाँ चटपटे बेच्छु । रोजगारी नपाएर तनाव सहनु परेको छैन, आफ्नो काम गरिरहेकी छु,’उनले भनिन्, ‘यो सब पढाई र भविष्यको लागि त हो ।’

उसो त, भृकुटीमण्डपमा उनीजस्तै व्यवसाय गर्नेहरू धेरै छन् । कहिलेकाहीँ सोचे जस्तो व्यापार हुँदैन । तर पनि प्रेमीकाको शालीन र सरल व्यवहारले उनको पसलमा धेरै मान्छेहरू आउँछन् र उनले बनाएको चटपटे खाएर जान्छन् । एक पटक आएको मान्छे फेरी फेरी पनि उनले बनाएको चटपटे र पानी पुरी खान पुग्छन् ।

उनले भनिन्–‘यहाँ त म जस्तो व्यापार गर्ने धेरै छन्, कहिलेकाहीँ त सोचेजस्तो कमाई हुँदैन । तर, चिनेको साथीहरू आइरहन्छन् ।’

सहयोग दाईभाउजूको, पौरख आफ्नै
भृकुटीमण्डपमा प्रेमीकाले इलम गर्नुभन्दा पहिले उनका दाइ भाउजूले व्यवसाय गर्थे । काठमाडौँ आएको सुरुसुरुमा उनले बेलाबेला दाइ भाउजूलाई नै सघाउँथिन् । बिस्तारै उनले पनि चटपटे र पानी पुरी बनाउन सिकिन् । दाइ भाउजूलाई समय नमिलेको दिन पसल चलाउने प्रेमीकाले अहिले आफैले सबै जिम्मेवारी सम्हालेकी छन् ।

‘काठमाडौँ आउँदा दाजु भाउजूलाई सहयोग गर्थेँ । बिस्तारै आफैले सिक्दै गएँ, उनले भनिन्, उहिले त आफैले गर्छु सबै, जिम्मेवारी र कमाई आफै गर्छु,’ ।

प्रेमीकालाई अहिले व्यवसायमा अरू कसैको सहयोग चाहिँदैन । उनले गर्न सक्ने काम एक्लै गर्छिन् । बिहान ११ बजेदेखि रातिको ८ बजेसम्म उनी काममै व्यस्त हुन्छिन् । भृकुटीमण्डपमा उनीजस्तै धेरै चटपटे व्यापारी छन् । जस कारण कहिलेकाहीँ सोचे जस्तो व्यापार हुँदैन ।

तर, चाडबाडमा र सिजनमा भने प्रेमिकालाई फुर्सद मिल्दैन । भृकुटीमा लुगा कपडा किन्न आउनेहरू बढेपछि उनको व्यापार पनि बढ्छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएकाले र घुम्न आउनेहरूको सङ्ख्यामा आएको कमिले सोचे जस्तो कमाइ नहुने उनी बताउँछिन् । यद्यपि उनलाई रित्तो हात चाहिँ फर्किनु परेको छैन ।

‘धेरै युवाहरू घुम्न आउँदा वा सपिङ गर्न आउँदा भिड लाग्ने गर्थे,’उनले भनिन्,‘अहिले धेरै युवाहरू विदेश पलाएन भएपछि ग्राहकहरू पनि घटेको जस्तो लाग्छ । व्यापार ठिकै छ ।’

मासिक २५ हजार आम्दानी
काम सानो र ठुलो हुँदैन भन्ने कुरा प्रेमीकाको व्यवसायबाट प्रमाणित हुन्छ । देशमा गरिखाने वातावरण भएन भनेर सरकारको विरोध गरिरहेका युवाहरूको अगाडी प्रेमीकाले मासिक २० देखि २५ हजार सम्म कमाउँछिन् । जसबाट उनको पढाई खर्च र घरायसी खर्च चल्छ । उनको आम्दानी खर्च मात्रै होइन, बचत पनि भइरहेको छ ।

थोरै लगानीमा पनि धेरै आम्दानी हुने उनी बताउँछिन् । उनले यो व्यवसाय गर्दा पछुताउनु नपरेको सुनाइन् । आफ्नै पौरखले गरेर खाने बताउने प्रेमीका आफूले गरिआएको कामले सन्तुष्ट र खुसी दिएको बताउँछिन् ।

अरूको काम गर्दा थिचोमिचो सहनुपर्ने र आफ्नो काम गर्दा आफै मालिक र आफै कामदार बन्न पाइने बताइन् । उनले यो पेसामा कसैको डर र भय सुन्न नपर्ने बताइन् ।

‘अरूको काम गर्नु भन्दा आफैले काम गर्न सजिलो हुन्छ । यसमा न कसैले कराउला भन्ने डर हुन्छ न कामबाट निकालिनु पर्छ,’उनले भनिन्,‘जति बेला पनि आउन मिल्ने जान मन नलागे पसल बन्द गरी बस्न पनि मिल्ने । आफ्नो काममा आफै मालिक आफै कामदार हुन पाइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *