सहकारी छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक : रवि र गगनमध्ये कसले छाड्ने राजनीति ?

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । समिति सभापति सूर्य थापाले गत सोमबारको प्रतिनिधि सभा बैठकमा पेश गरेको प्रतिवेदन शुक्रबार संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो ।

सो प्रतिवेदन ११ सय २४ पेज लामो छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गत जेठ १५ गते नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा सात सदस्सीय सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन गरिएको थियो ।

तत्कालीन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने (तत्कालीन गृहमन्त्री)माथि छानबिन गर्न माग गर्दै संसदमा अवरोध सिर्जना गरिरहेको थियो ।त्यसपछि सूर्य थापाको नेतृत्वमा सात सदस्सीय समिति गठन भयो ।

समितिमा नेकपा एमालेबाट सरिता भुसाल,नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने,नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल,राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहेका छन् । समितिको कार्यविधि तीन महिनाको तोकिएपनि थप १५ दिन समय दिइएको थियो । लामो समयको अध्ययन पछि समितिले गत भदौ ३१ गते संसद्लाई प्रतिवेदन बुझायो ।

सभामुख देवराज घिमिरेले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाएपछि असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । सहकारी प्रकरणको विषयलाई लिएर रास्वपा सभापति रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापाबीच निकै चर्काचर्की नै भएको थियो ।

महामन्त्री थापाले सहकारी प्रकरणमा लामिछाने दोषी रहेको बताइरहेका बेला सभापति लामिछानेले सहकारी प्रकरणमा आफू दोषी नरेको बताउँदै आएका थिए । लामिछानेले सहकारी प्रकरणमा दोषी देखिए राजनीति छाड्ने बताएपछि महामन्त्री थापाले पनि लामिछाने दोषी नदेखिए राजनीति छाड्ने बताएका थिए ।

तर, उनीहरुले राजनीति छोड्ने विषय स्टन्टका रुपमा मात्रै थियो । किनभने समितिको प्रतिवेदन सार्वजनिक भइसकेपछि पनि दुवैले आफ्नो अडान छाडेका छैनन् । अर्थात् लामिछानेले समितिले सहकारी प्रकरणमा आफूलाई ‘क्लिन चिट’ दिएको बताएका छन् भने कांग्रेस महामन्त्री थापाले पनि सहकारी प्रकरणमा समितिले रवि लामिछानेलाई दोषी करार गरेका बताएका छन् ।

अब सहकारी छानबिन समितिको प्रतिवेदनतर्फ जाऔँ, प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयर होलडरहरु त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातवाला हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने,गराउने प्रक्रियामा संलग्न रहेको आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

समितिले नाम समेत किटान गरेर कारबाहीका लागि सिफारिस गर्दा यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले भने सहकारी प्रकरणमा दोषी नरहेको बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि गरेको बताएका हुन् । अब आफूलाई गोरखा मिडियातिर तान्ने प्रयास हुने उनी बताउँछन्  ।

रविले आफूलाई सहकारी ठग नभएको बताएपछि कांग्रेस महामन्त्री गगन थापाले पनि जवाफ दिँदै भने, ‘सहकारीमा नबसेर पैसा लिने पनि ठग नै हुन् ।’ सहकारीमा बसेर पैसा दिने मात्रै नभई सहकारीबाट पैसा लिने पनि ठग भएको महामन्त्री थापाले बताए । उनले गगन थापालाई लक्षित गर्दै भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । सहकारी त सकियो अब भन्न मिलेन सहकारी ठग । सहकारी ठग भन्ने कुरा लगभग लगभग सकियो । प्रमाण छ प्रमाण भनेको होइन रहेछ,प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम उहाँलाई ।’

कांग्रेस महामन्त्री थापाले एक कार्यक्रममा बोल्दै रवि लामिछानेले सहकारीमा नबसेर नै ठगी गरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् । महामन्त्री थापाले भने, ‘सहकारी कानूनको दफा १२२ ले के भन्छ भने सहकारी ठग्ने मान्छेहरू दुई खालका हुन्छन् । एउटा आफैँ सहकारीमा बसेर सहकारीलाई ठग्छ  । एउटा आफू सहकारीमा बस्दैनन्, बाहिर बस्छन्,तर विभिन्न माध्यमबाट सहकारीलाई ठग्छ । त्यसैले सहकारीमा बसेर ठग्नेहरू पनि ठगै हुन् । तर,आफू सहकारीमा बस्दैनन् बाहिर बस्छन्, कम्पनीमा बस्छन्, घरमा बस्छन् । तर, त्यो सहकारीबाट लान नपाउने पैसा लिएर जान्छन् ती पनि ठगै हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *