उमेरले बुढ्यौली, कामले तन्नेरी बनेकी खड्गमाया (तस्बिरहरू)

काठमाडौँ । ओखलढुङ्गाकी ७४ वर्षीय खड्गमाया बस्नेत अहिले भक्तपुर, दुवाकोटमा बस्दै आएकी छन् । उनको परिवारमा छोरा बुहारी र २ जना नाति छन् । उनको श्रीमान धेरै पहिले नै बितिसके ।

दुवाकोटको गणेश मन्दिर तलको ठूलो चौरमा खड्गमाया बाख्रा चराइ रहेकी थिइन् । उनको छेउमा पाठा-पाठी सहित ८ ओटा बाख्राहरू चरिरहेका थिए ।

उनको छोरा/बुहारीले जग्गा भाँडामा लिएर ९/१० वटा गाई पालेका छन् । जसमध्ये ७ वटा त दुहुना मात्र भएको उनले बताइन् । त्यसबाहेक पनि उनीहरूले कुखुरा र बाख्रा पालेका छन् ।

खड्गमायाले बयर जातका बाख्रा आफूहरूले पालेको बताइन् । उनले सुरुमा एउटा माउ र बोको किन्दा १८ हजार पर्न गएको बताइन् । उनले भनिन् ‘त्यस्ता १८ हजार त कत्ति बेच्यो बेच्यो । अस्ति भरखर, पाठो र खसी गरेर ५० हजारमा बेच्यो भन्थे ।’

उनले पोहोर मंसिरमा ब्याएको माउ बाख्राहरू यसपालि जेठमा फेरी ब्याएको सुनाइन् । उनले एउटा बाख्राले ३/३ वटा पाठा, पाठी पाउने बताइन् ।

उनले बाख्रा पालन व्यवसायमा फाइदा नै हुने बताइन् । उनले पहिले पहिले त २ टाइम नै चराउने गरेको तर आजभोलि बिरामी भएदेखि एक बिहान मात्र चराउन पाएको दुखेसो पोखिन् ।

उनले आफ्नो विगतलाई सम्झँदै भनिन् ‘गाउँमा त गाई, भैँसी , बाख्रा टन्नै थियो । वहाँ त घाँस पनि बेस्सरी हुने । खेताला लगाएर छोपायो अनि हिउँद भरि त्यही पुरानो घाँस हाल्यो । कोदाको नल हुन्थे बेस्सरी । अनि त्यही नल हाल्यो ।’

उनले गाउँघरमा गाईबस्तुको चरण क्षेत्र धेरै भए पनि उपत्यकामा भने चरण क्षेत्रको समस्या भएको बताइन् । उनले छोरा बुहारी सबै यतै भएकाले गाउँघर छाडेर आफू पनि यतै आउन बाध्य भएको बताइन् । उनले भनिन् ‘यता त धेरै गाईबस्तु चराउने ठाउँ नै छैन ।’

हेर्नूहोस् तस्बिरहरू :

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *