चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाऊँ’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ ।

गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तव्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ ।

सपनामा देखेजस्तो हो कि बिपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ ।

जिन्दगीको उत्तरार्धमा आइपुग्दा पनि यथार्थमा जिन्दगी के हो भन्ने थाहा नहुने गरेको भन्दै बीचमा आउने दुःख, हाँसो, घाम र छाया, मिलन तथा बिछोड किन भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी आफैँमा एक आश्चर्य हो भन्ने बताउन खोजेको छ ।

गीतका यिनै भाव बोल्ने भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ । नेपालका तराई क्षेत्रमा भिडियो छायांकन भएको भिडियोले पुष्टि गर्छ ।

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संवादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । गिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्साएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।

यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ ।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

हेर्नूहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *