देशको पहिचान रक्षाका लागि साहित्यबाट पनि प्रतिवाद हुन जरुरी : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सुरक्षित राख्नका लागि एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

आइतबार नेपाल नाट्यप्रतिष्ठान, पोखराले काठमाडौंमा गरेको वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले शक्ति राष्ट्रहरुले देशको पहिचान मेटाउन भाषा, इतिहास, संस्कृति सिद्ध्याउन लाग्ने गरेको भन्दै हाम्रो इतिहास, धर्म, संस्कृति र पहिचानको रक्षा गर्नुपर्ने बताए । उनले पहिचान सकियो भने देश नै सकिने भन्दै पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले नेपालको पहिचानको रक्षाका निम्ति राजनीतिक क्षेत्रबाट मात्रै प्रतिवाद गरेर नपुग्ने भन्दै साहित्य र संस्कृतिबाट पनि प्रतिवाद गर्नु जरुरी रहेको बताए ।

उनले भने – ‘अब के हुँदैछ त भन्दा देशहरू कब्जा गर्ने त अभियान जारी छ । अब सम्बन्धित देशको पहिचान मेटाइदिने । पहिचान मेटाउन भाषा सिध्याउनुपर्यो । इतिहास सिध्याउनु पर्यो । संस्कृति सिध्याइदिनुपर्यो । उसको पहिचान सकिदिनु प¥यो । त्यसपछि लडाइँ लड्नै पर्दैन सकियो । अब त्यो फेजमा हामी छौँ । हाम्रो देशबाट बाहिरिनेहरूको बढ्दो चाप छ । यस्तो बेलामा हामीले हाम्रो इतिहास, धर्म, संस्कृति, पहिचानको रक्षा गरेनौँ भने देश कसरी रहला ? फौज आइरहनु पर्दैन । लडाई गरिरहनु पर्दैन । बन्दुक पड्काउनु पर्दैन । देश रहन्छ कि रहँदैन ? यो पहिचान सकियो भने देश सकियो । पहिचानको रक्षा कसरी गर्ने ? हाम्रो देशमा बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधता भएको देश हो । यसलाई खण्डित गर्ने हिसाबले जुन सोचहरू आउँछन्, यो राजनीतिले मात्रै प्रतिवाद गर्ने होइन, साहित्य, संस्कृतिबाट पनि त्यसको प्रतिवाद हुनु जरुरी छ । देश बचाउने हो भने यो गर्नु जरुरी छ । त्यसकारणले कुन सिद्धान्त लिएको को पार्टी छ, छोडिदिऔँ । तर यतिबेला एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यो निर्णायक राष्ट्रिय शक्ति नबन्ने हो भने हाम्रो देश कसरी सुरक्षित रहला ? खालि केही गीत गाएर मात्रै बन्न सक्दैन । त्यसकारण हाम्रो अगाडी यो अविभारा छ ।’

उनले एमाले निर्णायक राष्ट्रिय शक्ति नबने देश सुरक्षित रहन नसक्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *