संविधान संशोधनबाट महिला र दलितको प्रतिनिधित्व बढ्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समावेशिता, समानुपातिक प्रतिनिधित्व बढ्नेगरी संविधान संशोधन हुने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी गरे । उनले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको उल्लेख गरे । उनले निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने पनि बताए ।

उनले कसैको दबाब र लहडमा नेपाली काँग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने बताए । उनले समानुपातिक प्रणाली हटाइ राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा पार्टीका केही नेताहरूले गरेको भन्दै काँग्रेस त्यसको पक्षमा नरहेको बताए । राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा काँग्रेसको नीति नरहेको भन्दै गलत प्रचार नगर्न पार्टीका नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिए । आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधित्व, महिला, दलितको प्रतिनिधित्व बढ्ने तर नघट्ने प्रतिवद्धता जनाए ।

उनले भने ‘ त्यो प्रतिनिधि सभामा महिला, दलित, मधेसी सबै लिएर जान्छौँ भनेर हामीले बनाएको प्रणाली हो । हामी कतिपय ठाउँमा आशंका राख्छौँ, एउटा पार्टी आउँछ, सरकार भन्दा बाहिर बसेको पार्टीले भनिदिन्छ, अहिले काँग्रेस, एमाले मिलेर यो प्रणाली हटाउँदै छन् खबरदार भनेर कुनै नेताले भनिरहनुभएको छ । हाम्रो साथीहरू पनि अलिअलि अलमलिएको जस्तो देख्छु । अलमल गर्ने छुट पनि कसैलाई छैन । आशंका गर्ने छुट पनि कसैलाई छैन । हामीले हाम्रो आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधित्व, महिला, दलितको प्रतिनिधित्व बढ्छ, घट्दैन । बढ्छ घट्दैन । यो नेपाली काँग्रेसको कुरा हो । यो पार्टीको जिम्मा हो ।’

महामन्त्री थापाले सात बुँदे सहमति हुनुभन्दा पहिला नै निर्वाचन प्रणाली लगायतका केही विषयमा संविधान संशोधन गर्नेकुरा उल्लेख गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *