पक्राउ परेका दुर्गा प्रसाईंलाई के हुनसक्छ सजाय ?

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाले दिएको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंलाई पक्राउ गरेपछि साइबर ब्युरोले थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंले रास्वपा केन्द्रीय सदस्य संग्रौलाविरुद्ध ‘फेक समाचार’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ ।

पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँ आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका छन् । प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । प्रहरीले उनलाई मध्यपुर थिमीमा रहेको उनको घरभित्रै प्रवेश गरेर नियन्त्रणमा लिएको थियो ।

के सजाय हुन सक्छ ?
प्रहरीले उनीमाथि अधिकतम १ लाख रुपैयाँसम्म जरिबाना र ५ वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको छ । ‘विद्युतीय कारोबार ऐन २०६३को दफा ४७को कसुर गरेको एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले भने ।

ऐनको उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ ।

तर प्रसाईँविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै गरिने प्रहरीले जनाएको छ । एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय केही शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए । नेकपा फुटेपछि प्रसाईँ एमालेका केन्द्रीय सदस्य बने ।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनलाई एमालेले दलबाट निष्कासन गरेको थियो । त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *