श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले गरे राष्ट्रपतिको सपथ ग्रहण

काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका थिए भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हालेको र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गरेको निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए ।

सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो ।

सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गरेका थिए ।

सपथ ग्रहणपछि दिसानायकाले भने– “जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।”

उनले भने, “म जादुगर होइन । मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।”

प्रधानमन्त्रीद्वारा राजिनामा

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेका छन् ।

दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *