सांसदहरू नआएपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठक पनि स्थगित भएको छ ।

सोमवार श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो ।

यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत/अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ ।

आज (सोमवार) बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् । दुई तिहाइका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मंगलवार बिहान ९ बजे बस्ने जानकारी दिइन् ।

उनले भनिन् ‘आज हाम्रो सुनुवाइ समितिको बैठक स्थगित गरिएको छ । भोलि ९ बजे बस्नेछ । केही थप कागजातहरू पनि हामीलाई आवश्यकता भएको र थप छलफल पनि आवश्यक भएकाले समितिका सबै मान्य सदस्यहरुज्युहरुले भन्नुभयो ।’

गत बैठकमा समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए । सरकारले राजदूतमा सिफारिस गरेको (भोलि) मंगलवार ४५ दिन पुग्ने भएकाले भोलि नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *